
वासिङटन, मंसिर ८ । संयुक्तराज्य अमेरिकाले औपचारिकरुपमा आइतबारदेखि ‘खुला आकाश’ प्रतिरक्षा सन्धिबाट बाहिरिएको घोषणा गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनका अवधिमा अमेरिका योसहित धेरैओटा अन्तर्राष्ट्रिय सन्धि–सम्झौताबाट अलग भइसकेको छ ।
अमेरिका र रुसबीच शीतयुद्धका अवधिमा एकार्का मुलुक वा पक्ष राष्ट्रका आकाशको प्रयोगका बारेमा रहेका कठिनाइ हटाउन महाशक्ति राष्ट्र अमेरिका र रुसबीच यो खुला आकाश सम्झौता गरिएको थियो ।
तर, राष्ट्रपति ट्रम्पले गत मे महिनामा रुसले सम्झौताका शर्तहरु उल्लंघन गरिरहेको आरोप लगाउँदै यस सम्झौताबाट अमेरिका बाहिरिने घोषणा गर्नुभएको थियो ।
अमेरिकी विदेश मन्त्रालयले आइतबार प्रकाशन गरेको वक्तव्यमा यो सन्धिबाट अमेरिका सन् २०२० नोभेम्बर २२ देखि बाहिरिने र अमेरिका अबदेखि खुला आकाश सन्धिको पक्ष राष्ट्र नरहेको उल्लेख गरिएको छ ।
यस सन्धिमा सन् १९९२ मा हस्ताक्षर भएको थियो र सन् २००२ देखि कार्यान्वयनमा आएको थियो ।
रुस र अमेरिकासहित सन्धिमा हस्ताक्षर गरेका ३५ राष्ट्रले एकार्का मुलुकका आकाशमाथि हतियारविहीन निरीक्षण उडान भर्न सहमति जनाएका थिए ।
रुस र अमेरिकाले प्रायः एकार्का मुलुकमाथि सन्धिका प्रावधान उल्लंघन गरेको आरोप लगाउँदै आएका थिए ।
तर, ट्रम्प प्रशासनले छ महिनाको समयावधि दिएर सन्धिबाट बाहिरिने घोषणा गरेको थियो ।
ट्रम्प प्रशासनले यसअघि इरानसँग भएको सन् २०१५ को आणविक सम्झौताबाट पनि अलग भएको घोषणा गरेको थियो । साथै, जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताबाटसमेत ट्रम्प प्रशासन बाहिरिएको थियो ।
हाल राष्ट्रपति–निर्वाचित जो बाइडेनले पेरिस सम्झौतामा अमेरिका पुनः प्रवेश गर्ने घोषणा गरिसक्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्