
काठमाडौं, मंसिर ८ । नेपालमा पछिल्ला केही दिनयता कोरोना संक्रमण जित्नेको संख्या निकै बढेको देखिएको छ ।
परीक्षण गराउनेको संख्यामा कमी आएका कारण संक्रमण जित्नेको संख्या ९० प्रतिशतमाथिसम्म पनि पुगेको छ भने संक्रिय संक्रमितको संख्या घट्दै गएको छ ।
मंसिर १ गतेदेखि ७ गतेसम्म ५० हजार ९९६ जनामा ‘पीसीआर’ परीक्षण भयो । जसमा १२ हजार २६९ जनामा संक्रमण देखिएको थियो ।
सात दिनमा भएको परीक्षणको अनुपातमा २४ प्रतिशतमा संक्रमण देखिएको हो । दैनिक १८ हजारसम्म हुने परीक्षणको दर हाल आठ हजारमा झरेका कारण संक्रमितको संख्यामा कमी देखिएको छ ।
पछिल्ला केही दिनयता दैनिकरुपमा पीसीआर परीक्षण कम भएता पनि परीक्षण भएकामध्ये झन्डै २५ प्रतिशत व्यक्तिमा संक्रमण देखिएको छ ।
अन्तर्राष्ट्रिय मापदण्डअनुसार १० प्रतिशतभन्दा बढी संक्रमण देखिएको अवस्थामा त्यहाँ परीक्षण न्यून भएको रुपमा लिने गरिएको छ ।
यस्तै, पछिल्लो सात दिनयतामात्र २५ हजार ५९४ जनाले कोरोना संक्रमण जितेका छन् । जसमा सबैभन्दा धेरै मंसिर ७ गते पाँच हजार ६९९ जना र मंसिर ५ गते पाँच हजार ३६४ जना संक्रमणमुक्त भएका थिए ।
कोरोनामुक्त हुनेको यो संख्या नेपालमा कोरोना संक्रमण देखिएको आठ महिनायता कै उच्च थियो ।
हाल दिनहुँ दुई हजारमाथि व्यक्तिले संक्रमण जित्ने गरेका छन् । ‘डिस्चार्ज’ हुनेको संख्या बढेसँगै देशभर संक्रिय संक्रमितको संख्या कम देखिएको हो । तर, परीक्षणअनुसार संक्रमितको संख्या भने उच्च रहँदै आएको छ ।
शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुन निको हुनेको संख्या उच्च देखिँदैमा लापरबाही भने नगर्न आग्रह गर्नुहुन्छ ।
सामान्यतया १४ दिनसम्म ‘आइसोलेसन’मा बस्ने हो भने संक्रमणमुक्त हुने चिकित्सकहरु बताउँछन् ।
मानिसको शरीरमा नौ दिनसम्म भाइरस सक्रिय नै रहने विज्ञहरुको भनाइ छ ।
तर, पछिल्ला दिनमा ९/१० दिनपछि नै संक्रमणमुक्त भएको भनेर डिस्चार्ज दिने वा परीक्षण नै नगराउनेहरुको संख्यासमेत बढेका कारण पनि निको हुनेहरुको संख्या बढेको बताइएको छ ।
कोरोना संक्रमण जितेपश्चात् पनि केही व्यक्तिमा लामो समयसम्म लक्षण रहने गरेको पाइएको छ । यस्तो अवस्थामा संक्रमितको स्वास्थ्यमा अन्य विभिन्न समस्यासमेत देखिएको पनि डा. पुनले बताउनुभयो ।
नेपालमा हाल संक्रमणमुक्त हुनेको संख्या दुई लाखमाथि पुगिसकेको छ । संक्रमण जित्नेको संख्या बढ्नु आफैं सुखद पक्ष हो ।
तर, संक्रमण जित्ने र संक्रिय संक्रमितको संख्या कम छ भनेर लापरबाही बढ्यो भने त्यो घातक सावित हुने निश्चित प्रायः छ । जसका कारण परीक्षणको दायरा बढाउँदै जनस्वास्थ्यको मापदण्डमा कडाइ गर्न आवश्यक देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्