१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025


‘हामी सत्ताका लागि लालायित छैनौं’


0
Shares

काठमाडौं, मंसिर ८ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सभापति शेरबहादुर देउवाको भेटलाई सत्तासाझेदारीसँग नजोड्न आग्रह गरेको छ ।

लोकतान्त्रिक व्यवस्थालाई सुसंस्कृत बनाउन प्रधानमन्त्री र प्रतिपक्ष दलका नेताबीच भेटघाट र संवाद हुनु सकारात्मक भएकाले सत्तासाझेदारीसँग नजोड्न कांग्रेसले आग्रह गरेको हो ।

शनिबार प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता भएको थियो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले संसदीय प्रणालीमा प्रधानमन्त्री र प्रतिपक्ष दलका नेताको बीचमा हुने भेटघाटका निश्चित विषयवस्तु र कार्यसूची हुनैपर्छ भन्ने नभएको बताउनुभयो ।

‘सामान्यतया संसदीय प्रणालीमा प्रधानमन्त्री र प्रतिपक्षी दलको नेताको बीचमा भेटघाट हुनका लगि यो विषयवस्तु र त्यो विषयवस्तु भनेर सूचीका साथ हुनुपर्छ भन्ने कुरा उचितजस्तो लाग्दैन’–उहाँले भन्नुभयो–‘लोकतान्त्रिक व्यवस्थालाई सुसंस्कृत बनाउने हो भने निरन्तर भेटघाट र संवाद हुनु राम्रो कुरा हो ।’

अहिले सरकारमा सहभागी हुने कांग्रेसको रुचिको विषय नभएको शर्माको भनाइ छ ।

जनताले पाँच वर्ष प्रतिपक्ष भूमिकामा बस्न आदेश दिएकाले सत्ताका लागि आफूहरु लालयित नभएको उहाँले बताउनुभयो । उहाँले नेकपाभित्रको द्वन्द्वमा आफ्नो पार्टी पूरै निरपेक्ष रहेकोसमेत बताउनुभयो ।

‘पाँच वर्षका लागि प्रतिपक्षीमा रहने जनादेश छ । हामी सत्ताका लागि लालायित छैनौं । नेकपाभित्रको द्वन्द्वमा हामी पूरै निरपेक्ष छौं । उहाँहरुको कुनै प्रकारको जोड–घटाउ हुँदै गर्दा प्रतिपक्षी टाउको गणना गर्ने काम कतैबाट नहोस् भन्ने हो’–उहाँले भन्नुभयो ।

विगत अढाइ वर्षको अवधिमा कुनैपनि महत्वपूर्ण निर्णय गर्दा पार्टी सभापति एक्लैले नगरेको स्मरण गराउँदै शर्माले पहिले पदाधिकारी तहमा छलफल गरेर केन्द्रीय कार्यसमितिको निर्णयअनुसार अगाडि बढ्ने बताउनुभयो ।

भोलिको दिनमा नेकपा एउटै बाटोमा जान्छ भन्ने टुंगो नभएको उल्लेख गर्दै उहाँले भन्नुभयो–‘उनीहरु एउटा निश्चित टुंगोमा नपुग्दासम्म नेपाली कांग्रेसले टिप्पणी गरिराख्नुपर्ने, धेरै चासो राख्नुपर्ने र सत्तारुढ दलमा केही द्वन्द्व भयो भन्दैमा कांग्रेसले सत्ताका लागि खुट्टा उचालिहालेको वा अलिकति उज्यालो अनुहारका साथ सिंहदरबारतिर हेरेको नसोच्न आग्रह गर्दछु ।’