
काठमाडौं, मंसिर ८ । पार्टीभित्र एक्लिँदै गएपछि नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले विरोधी खेलमालाई तर्साउन नेपाली कांग्रेससँग हिमचिम बढाउनुभएको छ ।
गएको शनिबार ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग बालुवाटारमा गरेको भेटमा सत्तासाझेदारीको प्रस्ताव गरेको विवरणहरु सार्वजनिक भएका छन् ।
तर, कतिपयले ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई तर्साउने अस्त्र सभापति देउवालाई बनाएको विश्लेषण गरेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राजदूत हाउ यान्छीपश्चात् नेकपा विवादभित्र कांग्रेस सभापति शेरबहादुर देउवाको ‘इन्ट्री’ भएको छ ।
‘इन्टरभल’मा पुगेको भनिएको नेकपा विवादमा अध्यक्ष ओलीले शनिबार कांग्रेससँग साथ खोजेसँगै राजनीति तरंगित भएको छ ।
बूढानीलकण्ठ स्रोतकाअनुसार आधा दर्जन मन्त्रालयको प्रस्तावका साथ ओलीले देउवालाई सिंहदरबारमा ‘रातो कार्पेट’ बिछ्याउने प्रस्ताव गरेसँगै दाहाल–माधव नेपाल पक्ष सशंकित बनेको छ । तर, कांग्रेसवृत्त यसलाई मान्न तयार छैन ।
कांग्रेसलाई देखाएर ओलीले संसदीय दलमा बहुमत पुर्याउने रणनीतिलाई नजरअन्दाज गर्नपनि सकिँदैन ।
यता, शनिबार बस्ने सचिवालय बैठकमा साझा प्रस्ताव नल्याउने निचोडमा दाहाल पुगिसक्नुभएको छ ।
तर, विश्लेषक देवप्रकाश त्रिपाठी नेकपाभित्रको विवाद प्रतिपक्षी दलसँग मन्त्रालय बाँडफाँटसम्म पुगिनसकेको तर्क गर्नुहुन्छ ।
प्रतिनिधिसभामा ६१ जना कांग्रेसका सांसद छन् । पार्टी विभाजन हुने अवस्थामा १३५ जना सांसदको सहभागितामा बहुमत पुर्याएर सरकार बनाउन कांग्रेस ‘की फ्याक्टर’ बन्ने ओलीलाई थाहा छ ।
भलै, स्थिति त्यो चरणमा नपुगेपनि सत्ताको भागीदार बन्न पाए कांग्रेस पछि हट्ने अवस्था छैन ।
सत्ता र शक्तिप्रदान भएको नेपाली राजनीतिमा सिद्धान्त, आदर्श र जनहित कथनमात्र हो । सत्तारुढ दल फुटको संघारमा पुगेको बेला कांग्रेस चलखेलमा नलाग्ने कल्पना गर्न विगतले पनि दिँदैन ।
राजनीतिका चतुर खेलाडी ओलीले सत्ता जोगाउन र दाहालले ओलीलाई कमजोर पार्न सक्ने तिकडमबाजी हेर्न बाँकी नै छ ।
संसद खुलाएर भएका गतिरोध अन्त्य गर्न दबाब दिनुपर्ने प्रतिपक्षी दल पनि दन्किएको आगोमा घिउ थप्नमा सीमित हुँदा दशकौं संघर्षबाट स्थापित भएको राज्यव्यस्थाप्रति जनविश्वास गुम्ने खतरा छ ।
प्रतिक्रिया दिनुहोस्