२९ चैत्र २०८१, शुक्रबार | Sat Apr 12 2025

एक करोड लगानीमा थारु महिलाहरुले खोले होटल, एकाएक फेरियो दैनिकी


0
Shares

नवलपुर । नवलपुरका थारु समुदायका महिलाहरु पछिल्लो समय आत्मनिर्भर हुने क्रम बढेको छ । माछा मार्ने तथा कृषि पेशा गरेर दैनिकी चलाउने महिलाहरुले दैनिकी आजभोलि फेरिएको छ ।

नवलपुर कावासोती १५ गोडारमा थारु महिलाहरुको समूहले एक करोड रुपैयाँको लागतमा होटल व्यवसाय संचालनमा ल्याएका छन् ।

२९ जना थारु समुदायका महिला मिलेर थारु सास्कृतिक अतिथि गृह नामको होटल संचालनमा ल्याएका हुन् ।

अतिथि गृहका लागि स्थानीय थारु संग्रहालयको दुई विगाहा क्षेत्रफल लिजमा लिएर होटल खोलिएको हो ।

थारु समुदायको संस्कृति झल्कने घर ६ वटा निर्माण गरिएको छ । भ्यु टावर समेत निर्माण गरिएको छ ।

होटलमा थारु समुदायको खानाका परिकारहरु खान पाइने होटलकी व्यवस्थापक तथा समूहकी अध्यक्ष देउकुमारी मुखियाले जानकारी दिनुभयो ।

नारायणी नदी नजिकै पर्ने भएकाले यहाँका महिलाहरु फुर्सदको समयमा माछा मार्ने र खेती मै व्यस्त हुने गरेका थिए ।

तर अहिले आफूहरु चल्नको लागि आफ्नै अतिथि गृहबाट पाएको रकमले घर परिवार चलाएको स्थानीय महिलाको भनाइ छ ।

हाल होटलले भिलेजवाक, बयलगाडा सफारी, जंगलवाक, साइकल टुर, जीप सफारी, जंगल सफारी, बोटिङलगाएका सेवा सुविधा प्रदान गरेको छ ।

हाल होटलमा समूहकै ५ जना महिलाहरुले रोजगार समेत पाएका छन् ।

नारायण नदी किनार, मध्यवर्ती क्षेत्र र चितवन राष्ट्रिय निकुञ्ज क्षेत्र पर्ने भएकाले यस क्षेत्र पर्यटकीय क्षेत्रका रुपमा पनि महत्वपूर्ण छ ।

कुनै समय घरबाट बाहिर ननिस्कने महिलाहरु अहिले अग्रेजी सिकेर विदेशी पाहुनाहरुसँग सामान्य अग्रेजी समेत बोल्न सक्ने भएका छन् ।

महिलाहरुले नै होमस्टे सम्हालेका छन् । जसको कारण अहिले यस गाउँ आसपासका महिलाहरुमा पनि केही गर्नुपर्छ भन्ने हिम्मत आएको छ ।