
काठमाडौं, मंसिर ९ । अभ्यासका लागि बन्द प्रशिक्षणमा बोलाइएका नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरुको मंगलबार ‘पीसीआर’ परीक्षणका लागि स्वाब लिइएको छ ।
कोरोना संक्रमणको जोखिका बीच अभ्यास सुरु गरेको नेपाल क्रिकेट संघ (क्यान)ले बन्द प्रशिक्षणमा सहभागी हुने खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरुको स्वाब लिएको हो ।
मंगलबार खेलाडी, फिजियोथेरापिस्ट र प्रशिक्षक गरी १९ जनाको पीसीआर परीक्षणका लागि स्वाब लिइएको छ ।
यसैगरी, १३ जना ‘मेन्टेनेन्स स्टाफ’को पनि पीसीआर परीक्षण गरिने भएको छ । उनीहरुको पनि मंगलबार नै स्वाब लिइएको छ । सबैको पीसीआर परीक्षण कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको हो ।
बन्द प्रशिक्षण बुधबार (भोलि)बाट सुरु हुँदैछ । बन्द प्रशिक्षणका लागि क्यानले २२ जना खेलाडीलाई बोलाएको छ ।
कोरोनाभाइरस महामारीको कारण नेपाली टोलीको नौ महिनापछि बन्द प्रशिक्षण हुन लागेको हो । प्रशिक्षक जगत टमटाले प्रशिक्षण दिनुहुनेछ ।
बन्द प्रशिक्षणका लागि कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, पारस खड्का सन्दीप लामिछाने, शरद भेषावकर, करण केसी, वसन्त रेग्मी, विनोद भण्डरी र सोमपाल कामीलाई बोलाइएको छ ।
यस्तै, सुशन भारी, ललितनारायाण राजवंशी, आरिफ शेख, पवन सराफ, अविनाश बोहरा, सुवास खकुरेल, रोहितकुमार पौडेल र कुशल मल्ललाई पनि प्रशिक्षणका लागि बोलाइएको छ ।
यसैगरी, राशिद खान, कमलसिंह ऐरी, सन्दीप जोरा, किशोर महतो र भुवन कार्कीलाई पनि बन्द प्रशिक्षणमा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस्