१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


क्यानोनिङमा आकर्षण


0
Shares

काठमाडौं, मंसिर ९ । कोरोनाभाइरस (कोभिड—१९)का कारण थलिएको पर्यटन व्यवसायले विस्तारै गति लिन थालेको छ ।

संक्रमणको जोखिम र नियन्त्रणका लागि सरकारले जारी गरेको ‘लकडाउन’का कारण बन्द रहेका पर्यटकीयस्थलहरु सञ्चालनमा आउन थालेसँगै व्यवसायले पनि गति लिन थालेको हो ।

पर्यटकीय नगरी पोखरामा पाराग्लाइडिङ, फेवातालमा डुंगासयरदेखि क्यानोनिङ खुला भएको छ ।

आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षणका रुपमा रहेका यी क्षेत्रहरु खुला हुन थालेसँगै पर्यटकहरुको संख्या पनि बढ्दै गएको व्यवसायीहरु बताउँछन् ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका–९, घलेलमा रहेको पोखरा क्यानोनिङ आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गन्तव्य बन्दै गएको छ ।

असोज १ गतेबाट सञ्चालनमा आएको क्यानोनिङ दशैं–तिहारपछि भने व्यस्त हुन थालेको छ ।

प्रकृतिसँग रमाउन आउने मानिसहरुको संख्या लकडाउनपछि बढेको भएपनि कोरानाअघिको अवस्थामा फर्किन अझै केही समय लाग्ने पोखरा क्यानोनिङका सञ्चालक राम गुरुङ बताउनुहुन्छ ।

वि.सं. २०७० सालमा स्थापना भएको पोखरा क्यानोनिङमा अहिलेसम्म हजारौं मानिसले क्यानोनिङको आनन्द लिइसकेका छन् ।

डरलाग्दो चट्टानी पहरामा डोरीको सहायतामा झुन्डिँदै, चिप्लिँदै, झरना र खोलाका छाँगाबाट खस्दै खेलिने क्यानोनिङ नेपालमा साहसिक पर्यटकीय आकर्षणका रूपमा विकसित भइरहेको छ ।