
प्यूठान, मंसिर ९ । कृषिको विकासबिना देशको आर्थिक विकास नहुने भन्दै प्यूठान नगरपालिका–९ का १८ जनाले कृषि फर्म सञ्चालन गरेका छन् ।
वास्तविक किसानलाई सरकारले सहयोग गरे कृषि क्रान्ति गर्न सकिने उनीहरुको भनाइ छ ।
प्यूठान नगरपालिका मरन्ठाना बूढादेवीका १८ जना युवाहरु मिलेर सामूहिक कृषितर्फ लागेर मनग्य आम्दानी गर्न थालेका छन् । २०७५ सालमा कृषि समूह गठन गरेर सामूहिक कृषिमा लागेका हुन् ।
देशमा कृषि क्रान्तिबिना देशको आर्थिक क्रान्ति नहुने भन्दै १८ जना युवा मिलेर व्यावसायिक कृषि सुरु गरेको उनीहरु बताउँछन् ।
उनीहरुले ८० रोपनी क्षेत्रफलमा फैलिएको जग्गामा मौसमी तथा बेमौसमी तरकारीका साथै बाख्रा, गाई, भैसी, माछा र लोकल कुखुरापालन गरेका छन् ।
हाम्रो देश कृषिप्रधान देश भएपनि कृषिमा आकर्षिण कम हुँदै गएपछि ऊर्जाशील युवाहरुलाई कृषिमा आकर्षण बढाउन सामूहिक कृषि कर्ममा लागेका हुन् ।
सरकारले कृषिको नाममा ठूलो धनराशि खर्च गर्ने गरेपनि उत्पादन परिणाम भने ज्यादै न्यून भएको उनीहरुको बुझाइ छ ।
अहिले तीनै तहका सरकारले कृषिमा कृषकलाई अनुदान दिने गरेपनि झोले कृषक र नेताका आफन्तले लिने गरेको उनीहरुको आरोप छ ।
प्रदेश सरकारले करार खेतीलाई भाडा दिने र कृषि मजदुर तलब दिने भनेपनि त्यसो नभएको कुसुनढुंगा एकीकृत कृषि फर्मका अध्यक्ष बोमबहादुर भण्डारीको गुनासो छ ।
लामो समय रोजगारीका लागि भारत गएपनि परिवारको जीविकोपार्जनमा समय भएको र अहिले गाउँमै कृषि फर्म सञ्चालनमा आएपछि रोजगारी पाएको स्थानीय लक्ष्मण नेपाली बताउनुहुन्छ ।
गाउँघरमै स्वरोजगार तथा कृषिजन्य वस्तुमा आत्मनिर्भर बनाउने यस्ता कृषि फर्मलाई प्रोत्साहन गर्न तीनै तहका सरकार लागिपर्नुपर्ने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्