१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


‘विश्वकै दुर्लभ’ हस्तिहाड झ्याल संकटमा (भिडियो)


39
Shares

काठमाडौं, मंसिर ९ । नेपालको मौलिक हात्तीको दाह्राबाट बनाइने कला हस्तिहाड कलाको विश्वमा बेग्लै पहिचान छ । धेरै हस्तिहाड कलाहरु विदेशिएका छन् ।

तर, त्यसमध्ये हस्तिहाडबाट निर्मित झ्यालको उचित संरक्षण नहुँदा संकटमा परेको छ ।

नेपालका विभिन्न कलाको साथै हस्तिहाड अर्थात् हात्तीको दाह्राबाट बनाइने कला पनि विश्व प्रसिद्ध छ ।

यहाँका हस्तिहाडसम्बन्धी विभिन्न कला हाल संरक्षण र सम्वर्द्धनको अभावमा विभिन्न देशको संग्रहालय र व्यक्तिगत संग्रहमा सुरक्षित छन् ।

विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोकामा रहेको हस्तिहाड झ्याल पनि हस्तिकाड कलाको नमुना मानिन्छ ।

विगतमा जयप्रकाश मल्ल र देवी कुमारी यही झ्यालभित्र रहेको कोठामा पासा खेल्ने गरेको र कुमारीसँग राजकाज सल्लाह लिने गरेको भनाइ छ । यो झ्याल बीचमा स्वर्ण र दायाँ–बायाँ हस्तिहाडबाट बनेको झ्याल छ ।

लिच्छविकालमा श्रीखण्ड तरुमूल महाविहारअन्तर्गत् रहेको यो क्षेत्रमा मल्लकालमा मात्र यी झ्यालसहित विभिन्न संरचना बनेका हुन् ।

तर, हाल यो झ्याल सेतो रङले मात्र पोतेको छ । हस्तिहाड नासिसकेको छ ।

हस्तिहाड झ्याल पुरातात्विक र ऐतिहासिक महत्वको छ । जसमा नेपाली कलाको पहिचान झल्किन्छ ।

त्यसैले पाटन दरबारमा रहेको हस्तिहाडको झ्याल हस्तिहाड नै प्रयोग गरेर केही वर्षअघि पुनः बनाइएको थियो । जुन अहिले आकर्षणको केन्द्र बनेको छ ।

बज्रयान महासंघका अध्यक्ष राजेन्द्रमान बज्राचार्यले यो झ्यालको सम्बन्ध देवी कुमारीसँग पनि रहेकोले हस्तिहाडबाटै पुनः बनाउनुपर्ने बताउनुभयो । यो विश्वको दुर्लभ हस्तिहाड झ्यालमध्ये एक रहेको उहाँको दाबी छ ।

विगतमा राजकीय समारोहमा प्रयोग हुने यो स्वर्ण झ्यालबाट दैवीय शक्ति भएको कुमारी र हस्तिहाडको दुईओटा झ्यालबाट राजा–रानीले हेर्ने गरेको ब्रजाचार्य बताउनुहुन्छ ।

अहिलेको कुमारी घर बन्नुभन्दा पहिला कुमारीको प्रयोगका लागि र पछि राजपरिवारले यसको प्रयोग गर्ने गरेको उहाँको भनाइ छ ।

त्यसैले कानुनी प्रावधानहरु हेरेर हस्तिहाडकाबाटै झ्याल पुनः बनाउँदा हाम्रो मौलिक कला जोगिने देखिन्छ ।

भिडियो हेर्नुहोस्

भिडियोः सुन्दर गुरुङ ।