२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


भारतसितको सीमानाका तत्काल खोल्न जसपाको माग


0
Shares

काठमाडौं, मंसिर ९ । जनता समाजवादी पार्टी (जसपा) नेपालले भारतसँगको सीमानाका खुला गर्न माग गरेको छ ।

जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले मंगलबार संयुक्त विज्ञप्ति जारी गरेर कोरोना महामारीका कारण बन्द गरिएका भारतसँग जोडिएका सीमानाका तत्काल खोल्न माग गर्नुभएको हो ।

विज्ञप्तिमा लामो समयदेखि सीमानाका बन्द हुँदा तराई–मधेसका जनताको दैनिक जीवन कष्टकर बनेको भन्दै तत्काल सीमानाका खुला गरेर व्यवस्थित र सहज बनाउन आग्रह गरिएको छ ।

विज्ञप्तिमा ‘लम्बिएको सीमानाका बन्दले मुलुकको अर्थतन्त्रलाई धराशायी त बनाएकै छ, सीमा क्षेत्रका बासिन्दाको जनजीवनसमेत कष्टकर बनेको’ उल्लेख छ ।

सीमा बन्दले तराई–मधेसका जनताको कृषि, शिक्षा, स्वास्थ्य उपचार, रोजगार, आर्थिक, सामाजिक क्षेत्रमा गम्भीर समस्या देखिएकाले जनताको जीवन थप कष्टकर हुन नदिन सरकारले भारतसँग जोडिएका सीमानाकालाई तत्काल खुला गर्न विज्ञप्तिमार्फत् सरकारलाई आग्रह गरिएको छ ।

यस्तै, कोरोना संक्रमणको न्यूनीकरण र रोकथामका लागि प्रभावकारी कदम चाल्नसमेत माग गरिएको छ ।