
काठमाडौं, मंसिर ९ । सत्तारुढ नेकपाभित्रको विवाद फुटको जोखिमतिर उन्मुख देखिन्छ ।
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई आरोप लगाउँदै पेस गरिएको ‘१९ बुँदे प्रस्ताव’बाट अर्का अध्यक्ष पुष्पकमल दाहाल टसमस नदेखिएपछि ओलीपनि जवाफी पत्रको तयारीमा जुट्नुभएको छ ।
यहाँसम्म कि आफ्नो पल्लाभारी पार्न दाहालले उक्त प्रस्ताव तल्ला कमिटीमा पठाइरहनुभएको छ भने ओली पनि जवाफी पत्र ‘सर्कुलर’ गर्ने रणनीतिमा हुनुहुन्छ ।
यस्तो स्थितिमा नेकपाको विवाद अब वार या पारको अवस्थामा पुग्ने हो किजस्तो देखिएको छ ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूविरुद्ध पार्टीका नेताहरुले घेराबन्दी गरिरहेको अभिव्यक्ति पछिल्ला दिनहरुमा दिँदै आएपछि नेकपामा अब अंकगणितको खेल पनि सुरु भएको छ ।
सचिवालय, स्थायी र केन्द्रीय कमिटीहरुमा अल्पमतमा परेपछि संसदीय दलमा बहुमत जुटाउने, पार्टी फुटाउन सजिलो पार्ने अध्यादेश ल्याउने वा प्रतिपक्षीको साथ लिएर सत्ता जोगाउने रणनीतिमा ओली समूह जुटेको छ भने दाहालले सचिवालय बैठकमा पेस भएका प्रस्ताव तल्ला कमिटीमा पठाउँदै कार्यकर्ताको समर्थन बटुल्न लाग्नुभएको छ ।
ओलीमाथि आरोप लगाउँदै पेस गरिएको प्रस्तावको जवाफी पत्र दिएर आफ्नो पक्षमा मत बलियो पार्न ओलीले बालुवाटारमा आफूइतर नेताहरुसँगको भेटलाई तीव्रता दिनुभएको छ भने आफूनिकट प्रतिष्ठानमा ‘जबज’का नाममा गरिने कार्यक्रममार्फत् पूर्वएमालेलाई एकजुट पार्ने रणनीतिमा देखिनुहुन्छ ।
यसले नेकपाभित्रको विवादमा विगतमा जस्तो पदीय लेनदेन र भागबन्डामा सहमति नभएर यसपटक दुवै खेमा वार–पारको रणनीतिमा देखिएको टिप्पणी गर्नुहुन्छ, राजनीतिक विश्लेषक मुमाराम खनाल ।
त्यसो त विगतमा अधिकांश सचिवालय बैठक बस्नुअघि दुई अध्यक्षबीच छलफल हुँदै आएपनि आगामी मंसिर १३ गते बस्ने सचिवालय बैठकका लागि अध्यक्षद्वयबीच संवाद हुन सकेको छैन ।
गत कात्तिक २६ गतेको स्थायी कमिटीको बैठकपछि दुवै अध्यक्षबाट जारी अन्तरपार्टी निर्देशन र नेकपाको अन्तरिम विधानले अध्यक्षद्वयको सहमतिमा प्रस्ताव र प्रतिवेदन पेस गर्ने व्यवस्था गरेपनि दाहालको प्रस्तावलाई एकपक्षीय आरोपपत्रको संज्ञा दिएका ओली पक्षका नेताहरुले उहाँविरुद्धको घेराबन्दीले पार्टी नै दुर्घटनामा पर्ने चेतावनी दिएका छन् ।
तर, ओलीइतर समूह भने बहुमतबाटै निर्णय गर्ने रणनीतिमा देखिएको छ ।
नेकपाभित्रको विवादमा दाहालको प्रस्ताव यथास्थितिमा रहने र ‘काउन्टर’मा ओलीको अर्को प्रस्ताव आउने हो भने त्यसले दुवैलाई झन् टाढा त पुर्याउने निश्चित छ । र, यसले पार्टीलाई फुटको दिशातर्फ नै उन्मुख बनाउने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्