१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


संक्रमणको जोखिम मूल्यांकन गरी सबै देशहरुमा उडान अनुमति दिन सिफारिस


0
Shares

काठमाडौं, मंसिर ९ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले संक्रमणको जोखिमको अवस्था मूल्यांकन गरी सबै देशहरुमा उडान अनुमति दिन सिफारिस गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको सीसीएमसी निर्देशक समितिको बैठकले अहिले उडानका लागि स्वीकृति पाएका मुलुकबाहेक अन्य मुलुकमा पनि आवश्यकताअनुसार उडान अनुमति दिन सिफारिस गर्ने निर्णय गरेको हो ।

कोरोना संक्रमणको जोखिम मूल्यांकन गरी अन्य मुलुकमा पनि आवश्यकताअनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नियमित उडानको अनुमति दिन सिफारिस गर्ने निर्णय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले बताउनुभयो ।

‘नियमित उडान स्वीकृति भएका देशका अलावा संक्रमणको जोखिम मूल्यांकन गरी अन्य मुलुकमा पनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आवश्यकताअनुसार क्रमशः नियमित उडान अनुमति दिँदै जाने निर्णय भएको छ’–उहाँले भन्नुभयो ।

विभिन्न सरकारी कार्यालयहरुमा एक–दुईजनामा संक्रमण ‘पोजिटिभ’ देखिनेबित्तिकै सम्पूर्ण सेवा बन्द गर्ने प्रवृत्ति बढेकाले त्यस्तो नगर्न पनि सीसीएमसीले निर्देशन दिएको छ ।

संक्रमित व्यक्तिहरुलाई ‘आइसोलेसन’मा राखेर सेवा नियमित गर्न निर्देशन दिइएको सचिव गुरागाईंले बताउनुभयो ।

संक्रमण उच्च रहेका र कम हुँदै गएका स्थानमा के–कस्ता सेवा सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल भएको छ ।

पछिल्लो समय उपत्यकामा संक्रमणको जोखिम बढ्दै गएको भन्दै उपत्यका मेयर फोरमले कडा निषेधाज्ञा गर्न सिफारिस गरेको थियो । यद्यपि, सीसीएमसीले तत्काल निषेधाज्ञा गर्ने विषयमा भने कुनै निर्णय गरेको छैन ।

संक्रमणको उच्च रहेको सीमित स्थानलाई ‘सिल’ गरी सेवा सञ्चालनका सम्बन्धमा केही निर्णय गर्न सकिने गरी छलफल भएको सचिव गुरागाईंले बताउनुभयो ।

उपत्यकामा रहेको एकीकृत एम्बुलेन्स सेवाको पार्किङ समस्या रहेकाले विभिन्न स्थानीय तहमा पार्किङका लागि व्यवस्थापन गर्ने निर्णय भएको छ ।