
महोत्तरी, मंसिर १० । महोत्तरीको बर्दिबास क्षेत्रमा निषेधाज्ञा(कर्फ्यू) जारी गरिएको छ ।
६ वर्षीया बालिका गुलाब शाहको हत्या बिरोधमा हिजो गरिएको प्रदर्शनमा प्रहरीको गोली लागेका एक व्यक्तिको मृत्यु भएसँगै प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।
हत्याको विरोधमा भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा घाइते भएकामध्ये एक जनाको आज बिहान उपचारका क्रममा निधन भएको हो । प्रशासनले बुधबार बिहान ९ बजे देखि ६ बजे सम्मकालागि निषेधाज्ञा जारी गरेको छ ।
पूर्वमा रातोखोला, पश्चिममा माइस्थानचोक, उत्तरमा पाटेचोक र दक्षिणमा क्वार्टरचोक क्षेत्रमा निषेधाज्ञा लगाइएको हो ।
मंगलबारको प्रदर्शनमा प्रहरीले हानेको गोली तिघ्रामा लागेर घाइते भएका बर्दिबास नगरपालिका–१ का ४२ वर्षीय बुद्धिराज न्यौपानेको उपचारको क्रममा काठमाडौमा निधन भएको हो ।
बालिकाको हत्याविरुद्ध भइरहेको प्रदर्शन नियन्त्रण गर्न भन्दै प्रहरीले दर्जनौँ राउण्ड अश्रुग्यासका साथै रबरका गोली र हवाइ फायरसमेत गरेको थियो ।
गत सोमबार चकलेट किन्न गएको समयमा बालिकाको हत्या गरिएको थियो । बालिकाको शव बोरामा राखेर फालेको अवस्थामा फेला परेको थियो ।
हत्या अभियोगमा गौशाला नगरपालिका–५ का अरुणकुमार साहलाई प्रहरीले पक्रेको छ । बालिका हत्यामा साह संलग्न रहेको थाहा पाएपछि आक्रोशित स्थानीयले मंगलबार उनको बर्दिबासस्थित घरमा आगजनी गरिदिएका थिए ।
सोही क्रममा स्थानीय र प्रहरीबीच तनाबको अवस्था सृजना भएको हो ।
प्रतिक्रिया दिनुहोस्