
काठमाडौं । कोरोना महामारीका कारण नेपाल नागरिक उड्डयन प्राधिकरणले पाँच अर्ब रुपैयाँ भन्दा बढी आम्दानी गुमाएको छ ।
कोरोनाका कारण नियमित उडान घटेकाले पाँच अर्ब भन्दा बढी आम्दानी गुमाउनुपरेको प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिनुभयो ।
नेपाल वायुसेवा निगमको ग्राउन्ड ह्याण्डलिङ सेवाबाट आएको कुल आम्दानीको १५ प्रतिशत प्राधिकरणलाई दिने गर्छ ।
अबौँको आम्दानी गुमाउनु पर्दा प्राधिकरणअन्तर्गत रहेको विकास निर्माण तथा मर्मतसम्भारका कार्य प्रभावित हुने प्राधिकरणले जनाएको छ ।
कोरोनाको महामारी सुरु भएपछि सरकारले सेवा शुल्कमा दिएको छुटले पनि आम्दानी घटेको छ । यात्रु कम भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुनसान देखिएको छ ।
लकडाउन खुकुलो भएपछि उडान चहलपहल बढेको थियो । चाडपर्वमा विदेशबाट आउने नेपालीका कारण यात्रु बढेपनि अहिले फेरि कम भएको विमानस्थल कार्यालयले जनाएको छ ।
हाल दुई दर्जन भन्दा बढी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी नियमित र चार्टर उडान गर्दै आएको विमानस्थलले जनाएको छ ।
हाल दैनिक करिब १० वटा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीमार्फत ११ वटा उडान र १३ वटा अवतरण हुँदै आएको छ ।
लकडाउनअघि दैनिक १५ हजार यात्रु आउजाउ गर्ने अन्तर्राष्ट्रिय विमानस्थलमा हाल दुई हजारदेखि तीन हजार यात्रु मात्रै हुने गरेको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्