१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


घट्यो आयात, बढ्यो निर्यात


0
Shares

काठमाडौं, मंसिर १० । चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो चार महिनामा विदेशी वस्तुको आयातमा कमी आउँदा निर्यातमा भने वृद्धि भएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको चार महिनाको तथ्यांकअनुसार १० प्रतिशत आयातमा कमी आउँदा १० प्रतिशतले नै निर्यातमा वृद्धि भएको हो ।

भन्सार विभागको तथ्यांकमध्ये चालू आवको पहिलो चार महिनाको अवधिमा रु चार खर्ब दुई अर्बको विदेशी वस्तुको आयात भएको छ । यो गत आवको सोही अवधिको तुलनामा १०.६२ प्रतिशतले कमी हो ।

यसैगरी, चार महिनाको अवधिमा रु ४० अर्ब २० करोडको वस्तु निर्यात भएको छ । यो गत आवको यसै अवधिको तुलनामा १०.८१ प्रतिशतले बढी हो ।

तथ्यांकानुसार चार महिनाको अवधिमा रु चार खर्ब ४२ अर्ब ६९ करोडको वैदेशिक व्यापारबाट नेपालले रु तीन अर्ब ६२ करोड घाटा व्यहोरेको छ । यो अघिल्लो आवको यसै अवधिको तुलनामा १२.४९ प्रतिशत गिरावट हो ।

गत आवको सोही अवधिमा रु चार खर्ब ८६ अर्ब ५७ करोड बराबरको वैदेशिक व्यापार हुँदा रु चार खर्ब १४ अर्ब रुपैयाँ बराबरको व्यापार घाटा थियो ।

गत आर्थिक वर्षको चैतदेखि घट्दोक्रममा रहेको नेपालको आयात व्यापार असोजमा एकै महिनामा रु एक खर्ब १३ अर्बको वस्तु आयात भएकोमा कात्तिक महिनामा पुनः घटेको भन्सारले जनाएको छ ।