१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


तस्करीमा लागेर सजाय भुक्तान गरेकालाई गैंडा संरक्षणमा लाग्न प्रेरित गर्दै निकुञ्ज


0
Shares

काठमाडौं, मंसिर १० । चितवन राष्ट्रिय निकुञ्जले गैंडा तस्करीको अभियोग लागेर सजाय भुक्तान गरेकाहरुलाई गैंडा संरक्षणमा लाग्न प्रेरित गरेको छ ।

निकुञ्जमा गैंडा संरक्षणको चुनौती बढिरहेका बेला निकुञ्ज प्रशासनले यसअघि तस्करीमा लागेर सजाय भुक्तान गरेका चेपाङ समुदायका केही व्यक्तिहरुलाई गैंडा संरक्षणमा प्रेरित गरेको हो ।

एक दशकअघि गैंडाको खाग तस्करी गर्नेहरुले निकुञ्ज आसपास बस्ने चेपाङ समुदायका व्यक्तिहरुलाई प्रयोग गरी गैंडा मार्न लगाएको र सोही अभियोगमा सजाय भुक्तान गरेका व्यक्तिहरुलाई अहिले गैंडाको संरक्षणका लागि काम गर्न प्रेरित गरिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताउनुभयो ।

तत्कालीन समयमा गैंडाको चोरी–सिकारीमा एउटै गाउँका ४० जनासम्म संलग्न भएका थिए । चेपाङ समुदायका तिनै व्यक्तिहरुलाई अहिले गैंडा संरक्षणमा जुट्न निकुञ्जले प्रेरित गरेको हो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत बरालले निकुञ्जसम्बन्धी ऐनले निकुञ्जमा तस्करी गर्नेहरुलाई १० लाख रुपैयाँसम्म जरिवाना र १५ वर्षसम्म कैदको सजाय गरेकाले पनि तस्करीको काममा नलाग्न आग्रह गर्नुभयो ।

तस्करीमा संलग्न भएका व्यक्ति तथा उनीहरुका आफन्तहरुले भने चेपाङ समुदायका लागि आय–आर्जनका कार्यक्रम सञ्चालन गरे तस्करी कम हुने बताएका छन् ।

विगतमा अशिक्षाका कारण तस्करीमा प्रयोग भएको उनीहरुले बताए ।

चेतनामूलक कार्यक्रम गर्दै आय–आर्जनमा प्रेरित गर्न सके तस्करी कम हुने उनीहरुको भनाइ छ ।

आर्थिकरुपमा असुरक्षित भएमा गैंडाको संरक्षण गर्न सम्भव नभएको पनि चेपाङ समुदायका युवाहरुले बताएका छन् ।

आर्थिक, सामाजिक क्षेत्रमा अब्बल हुनेतर्फ आफूहरुलाई प्रेरित गर्न निकुञ्ज प्रशासनसमक्ष उनीहरुले माग गरेका छन् ।

चितवन राष्ट्रिय निकुञ्जमा लगातार तीन वर्ष शून्य चोरी–सिकार वर्ष मनाइएको थियो ।

तर, चालू अर्थिक वर्षमा खाग चोरी नभएपनि तस्करले चारओटा गैंडा मारिसकेका छन् ।

चितवन राष्ट्रिय निकुञ्जमा एकै वर्ष ३८ ओटा गैंडा मारेर तस्करी भएको इतिहाससमेत छ ।

तस्करीमा लागेका कतिपय चेपाङहरु अहिले कैद भुक्तान गरेर घर फर्किएका छन् भने कतिपय सजाय भुक्तान गरिरहेका छन् ।

कैद भुक्तान गरेर फर्किएका केही व्यक्तिहरु फेरि तस्करीमा संलग्न हुन थालेपछि निकुञ्जले गैंडा संरक्षणमा चेपाङ समुदायलाई प्रेरित गरेको हो ।