१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पर्यटक भिसामा नेपाल आउनेका लागि भिसा प्रक्रिया खुकुलो बनाइँदै


0
Shares

rambahadur thapa

काठमाडौं, मंसिर १० । सरकारले पर्यटक भिसामा नेपाल आउने विदेशीका लागि भिसा प्रक्रिया केही खुकुलो बनाउने भएको छ ।

विगतमा भएको व्यवस्था परिवर्तन गर्दै पर्यटक भिसामा आउनेहरुका लागि केही खुकुलो बनाइने भएको हो ।

विधायन व्यवस्थापन समितिमा छलफलमा रहेको अध्यागमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा विदेशी नागरिकले नेपाली भिसा प्राप्त गर्न दिने निवेदन तथा कागजात संकलन र सहजीकरणसम्बन्धी काम नेपाल सरकारले तोकेका कम्पनी र संस्थामार्फत् गराउन सक्ने व्यवस्था प्रस्ताव गरेको छ ।

बुधबार विधेयकमाथिको छलफलमा गृहमन्त्री रामबहादुर थापाले नेपालको पर्यटन क्षेत्रमा टेवा पुर्‍याउने उद्देश्यले यस्तो व्यवस्था गर्न लागिएको बताउनुभयो ।

उहाँले आर्थिक समृद्धिको राष्ट्रिय आकांक्षा पूरा गर्न पर्यटन क्षेत्रको ठूलो सहयोग रहने भएकाले बढीभन्दा बढी पर्यटक भित्र्याउन यसले सहयोग पुर्‍याउने बताउनुभयो ।

अध्यागमनसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक अहिले छलफलका क्रममा रहेको छ ।

अध्यागमनसम्बन्धी विद्यमान कानुन परिवर्तन गर्नुपर्ने विभिन्न पक्षबाट आवाज उठ्न थालेपछि सरकारले केही कानुन संशोधन र एकीकरण गर्न विधेयक ल्याएको हो ।

नेपालमा विदेशीको आगमन, उपस्थिति र नेपालबाट विदेशीको प्रस्थानलाई नियमित र व्यवस्था गर्ने उद्देश्यले विधेयक ल्याइएको सरकारले जनाएको छ ।

विधेयक प्रचलनमा आएपछि विदेश जाने र विदेशबाट हुने नेपाली नागरिकको आगमनलाई पनि व्यवस्थित गर्नेछ ।