१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


हातले गोल गरेर चर्चित बनेका म्याराडोना कोकिन सेवन गर्थे, फिडेल क्याष्ट्रोसँग संगत गर्थे


0
Shares

काठमाडौं । बिश्व प्रसिद्ध फुटबल हस्ती डिएगो अर्मेन्डो म्याराडोनाको ६० बर्षको उमेरमा निधन भएपछि विश्वभरबाट शोक ब्यक्त भइरहेको छ ।

म्याराडोनाको अर्जेन्टाईनी राजधानी ब्युनस आयर्सस्थित आफ्नै निवासमा हृदयघातका कारण निधन भएको पारिवारिक श्रोतले जानकारी दियो ।

यही महिनाको शुरुमा मस्तिष्तमा रगत जमेका कारण सफल शल्यक्रिया गरीएका म्याराडोनालाई मदिराको लतबाट हटाउने उपचार सुरु गर्ने तयारी भइरहेको थियो ।

८० को दशकका सफल खेलाडी म्याराडोना विश्वकै अहिलेसम्मका सर्वाधिक सफल र लोकप्रिय खेलाडी मानिन्थे ।

यसअघि म्याराडोना कोरोना भाइरसको कारण सेल्फ आइसोलेसनमा रहेका थिए।

उनका बडीगार्डलाई कोरोना देखिएपछि उनी सेल्फ आइसोलेसनमा बसेका थिए। म्याराडोनाले ६० औं जन्म दिनसमेत आइसोलेसनमा मनाएका थिए।

फुटवल र ड्रक्स
म्याराडोनाको कप्तानीमा अर्जेन्टिनाले सन् १९८६ को विश्वकप फुटबल जितेको थियो ।

चार वर्षपछि सन १९९० को विश्वकपमा क्याराडोनाकै नेतृत्वमा फाइनलसम्म पुगेको अर्जेन्टिना तत्कालिन वेष्ट जर्मनीसँग पराजित भएपछि उपाधि बिमुख बन्यो ।

९० को दशकमा कोकिनको लतमा फसेका म्याराडोना सन् १९९१ मा १५ महिने प्रतिबन्धमा परे ।

१९९४ मा अमेरिकामा भएको विश्वकपमा ड्रग टेष्टमा दोषी पाइएपछि उनलाई देश फर्काईयो ।

त्यसपछि म्याराडोनाको खेल करियर र जिवनमा दोस्रो इनिङ सुरु भयो । ३७ वर्षको उमेरमा सन् १९९७ मा उनले खेलाडी जिवनबाट सन्यास लिए ।

म्याराडोना सन् १९८० देखि नै ड्रग्स तथा अल्कोहलको लतमा परेका थिए ।

सन् १९८४ मा उनी इटालियन क्लब नेपोलीमा आबद्ध हुँदा कोमोरा नामको प्रतिबन्धित औषधिसँग जोडिएका थिए । धेरैपछि म्याराडोनाले लागुऔषधका कारण करिअर नै बर्बाद भएको स्विकारेका थिए ।

नेपोलीमा रहँदा म्याराडोना कोकिन लतमा नराम्रोसँगै फसेका थिए तर, क्लबले कोकिन सेवन गरेको कुनै प्रमाण भेटाउन सकेको थिएन ।

सन् १९९१ मा कोकिन सेवन गरेको आरोपमै नेपोलीले म्याराडोनालाई १५ महिना प्रतिबन्ध लगाउनुपरेको थियो ।

त्यही वर्ष अर्जेन्टिनाको राजधानीमै उनी एक किलो कोकिनसहित पक्राउ परे र १४ महिना प्रहरी हिरासतमा बसे । तर जेलमा बस्दा पनि लत छुटाउन सकेका थिएनन् ।

सन् १९९४ मा म्याराडोनाले अमेरिकामा भएको विश्वकपमा सहभागिता जनाउँदा पनि कोकिन सेवन गरेको प्रमाणित भएको थियो ।

त्यसपछि तत्कालै फिफाले १५ महिना उनको सबै फुटबल गतिविधिमा प्रतिबन्ध लगाएको थियो ।

१९९० देखि १९९६ सम्म उनको ६ पटक रगत परीक्षण हुँदा तीनपटक लागुऔषध सेवन गरेको पाइएको थियो ।

फिडेल क्याष्ट्रोसँग नजिक

२००८ मा अर्जेन्टिनाको राष्ट्रिय टोलीका प्रशिक्षक बनेका म्याराडोनाले दुई वर्ष प्रशिक्षकको भूमिका पनि निभाए ।

राजनीतिक रुपमा विश्वबाट एक्लिएको क्युबाका तत्कालिन राष्ट्रपति फिडेल क्याष्ट्रोसँग घनिष्ठ सम्बन्ध राख्ने म्याराडोनाले जिवनको केही सयम क्युबामै बिताए ।

बाँकी विश्वसँग भने उनको सम्बन्ध र निकतता चिसिदै गयो । पटक पटक विवादास्पद अभियक्ती दिने म्याराडोनाले आफु ब्राजिलियन फुटबलर पेलेभन्दा पनि अब्बल रहेको जिकिर गर्दथे ।

तिनै पेलेले म्याराडोनाको निधनमा गहिरो शोक व्यक्त गरेका छन् ।

‘ह्याण्ड अफ गड’

म्याराडोनाले आफ्नो देशका लागि खेलेका ९१ खेलमा ३४ गोल गरेका छन् ।

सन् १९८६ को विश्वकपमा इंग्ल्याण्ड विरुद्धको क्वाटरफाईनल खेलमा म्याराडोनाले गरेको गोललाई विश्व फुटबलमा एउटा चमत्कार मानिएको छ ।

हातले गरेको उनको सो गोललाई ‘ह्याण्ड अफ गड’ भनेर ब्याख्या गरिएको छ ।

प्रशिक्षक हुँदा अभद्र व्यवहार गर्ने, सन्की स्वभाव देखाउने तथा अनुचित कार्यका कारण म्याराडोनाले राष्ट्रिय टोलीको जिम्मेवारीमा पनि हट्नु परेको थियो ।