२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


उद्योग वाणिज्य महासंघको साधारणसभा सुरु हुँदैं, ढकाल र प्रधानबीच कडा टक्कर


0
Shares

काठमाडौं । निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारणसभा बिहीबार देखि काठमाडौंमा सुरु हुँदैछ ।

साधारणसभाको प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

कोरोना संक्रमणको जोखिमका कारण बन्दसत्र समेत जुम एपबाट हुने महासंघले जनाएको छ । बन्दसत्र भोली हुनेछ ।

बन्दसत्र सकिएपछि १३ गते नयाँ कार्यसमितिका लागि निर्वाचन हुने छ । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्न पाउने व्यवस्थाअनुसार शेखर गोल्छाले महासंघको आगामी नेतृत्व पाउनुहुने छ । बाँकी पदहरुमा भने निर्वाचन हुने महासंघले जनाएको छ ।

१३ गतेसम्म हुने चुनावी साधारणसभामा महासंघको वरिष्ठ उपाध्यक्षका लागि चन्द्र ढकाल र किशोर प्रधान प्यानलसहित चुनावी प्रतिस्पर्धामा छन् ।

तीन दिनसम्म चल्ने महासंघको चुनावी प्रतिस्पर्धामा ढकाल र प्रधानको टक्कर पर्ने देखिन्छ ।

वरिष्ठ उपाध्यक्षका प्रत्यासी ढकाल आफू चुनावी प्रतिपर्धामा विजयी हुने बलियो सम्भावना रहेको दाबी गर्नुहुन्छ ।

साना तथा ठूला व्यवसायीहरुको आफूले स्वतस्फूर्त सहयोग पाएकाले चुनावी प्रतिस्पर्धा गर्नुनपर्ने दाबी ढकालको छ ।

यता प्रधान प्यानलले कृषि क्षेत्रमा व्यवसायीकरण र आधुुनिकीकरण मुख्य एजेन्डा बनाएको छ ।

आफ्नो प्यानलमा क्षमता र अनुभवी उद्योगी–व्यवसायीको सहभागिता रहेकाले आफूले चुनाव जित्नेमा विश्वस्त रहेको प्रधानको दाबी छ ।

वरिष्ठ उपाध्यक्षको चुनावका प्रत्यासी प्रधान र ढकाल दुवै पक्षले चुनाव आफूले जित्ने दाबी गरिरहेका छन् ।

प्रधान पक्षलाई पूर्वअध्यक्ष पशुपति मुरारकाको सहयोग छ भने चन्द्र ढकाल पक्षलाई अर्का पूर्वअध्यक्ष चण्डिराज ढकालको सहयोग छ ।

प्रधान प्यानलबाट वस्तुगत उपाध्यक्षमा अन्जन श्रेष्ठ, जिल्लानगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र एसोसिएटमा सौरभ ज्योतिले उम्मेदवारी घोषणा गरेका छन् ।

ढकाल प्यानलबाट वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, जिल्लानगर उपाध्यक्षमा गुणनिधि तिवारी र एसोसिएट उपाध्यक्षमा रामचन्द्र संघाईले उम्मेदवारी घोषणा गरेका छन् ।

दुवै पक्षले आफ्नो बलियो उपस्थिति र दाबेदारी देखाइरहेको महासंघको चुनावी प्रतिस्पर्धा निकै नै रोचक हुने देखिएको छ ।

महासंघको निर्वाचनका लागि तीन स्थान तय गरिएको छ । महासंघको केन्द्रीय कार्यालय टेकु, कार्की व्याङ्केट बबरमहल र नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा निर्वाचन कार्यक्रम हुने महासंघको सचिवालयले जनाएको छ ।

कोरोनाको जोखिम र सरकारले तोकेको स्वास्थ्य मापदण्डलाई दृष्टिगत गर्दै भिन्दाभिन्दै ठाउँमा निर्वाचन कार्यक्रम तय गरिएको हो ।

नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा उद्योग वाणिज्य समूह, कार्की व्यांक्वेट बबरमहलमा एशोसिएट सदस्य समूह र नेपाल उद्योग वाणिज्य महासंघको सचिवालय टेकुमा वस्तुगत संघ समूहको मतदानको व्यवस्था मिलाइएको छ ।

कोराना संक्रमित मतदाताहरुका लागि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा व्यवस्था गरिएको छ । गत चैतमा हुनुपर्ने महासंघको साधारणसभा तथा निर्वाचन कोरोना महामारीका कारण स्थगित भएको थियो ।