
काठमाडौं, मंसिर ११ । कोभिड–१९ का कारण नौ महिनापछि बल्ल नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण सुरु भएको छ ।
बिहीबारबाट कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बन्द प्रशिक्षण सुरु भएको हो ।
प्रशिक्षक जगत टमाटाको नेतृत्वमा नौ महिनापछि बन्द प्रशिक्षणमा फर्किएको टिमले स्वास्थ्य सुरुक्षाका सम्पूर्ण मापदण्ड अपनाएको छ ।
सुरुमा बन्द प्रशिक्षणका लागि २२ जना खेलाडीलाई बोलाएको नेपाल क्रिकेट संघ (क्यान)ले अहिले २७ जनालाई प्रशिक्षणमा राखेको छ ।
यद्यपि, कप्तान ज्ञानेन्द्र मल्लसहित पाँचजना खेलाडी प्रशिक्षणमा सहभागी हुन पाएका छैनन् ।
कप्तान मल्लसहित उपकप्तान दीपेन्द्रसिंह ऐरी र रोहित पौडेललाई कोरोना ‘पोजिटिभ’ देखिएकाले मैदानमा उत्रिएका छैनन् ।
गएको मंगलबार गरिएको ‘पीसीआर’ परीक्षणमा उनीहरुमा कोरोना देखिएको थियो । वसन्त रेग्मी पनि संक्रमित छन् ।
अहिले रित गौतम, अनिल शाह, कुशल भुर्तेल, विक्रम शोब र लोकेश बमलाई पनि क्यानले बन्द प्रशिक्षणमा सहभागी गराएको छ ।
प्रतिक्रिया दिनुहोस्