
काठमाडौं, मंसिर ११ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारत र चीनसँग आर्थिक विकासबाट लाभ लिनबाहेक नेपालको कुनै स्वार्थ नभएको बताउनुभएको छ ।
विश्व महाशक्तिका रुपमा विकास हुँदै आएका दुई छिमेकीबीच असल सम्बन्ध विकास गर्दै आर्थिक विकासबाट लाभ लिनबाहेक नेपालको अरु कुनै स्वार्थ नहुने उहाँले बताउनुभएको हो ।
बिहीबार संसदीय सुनुवाइ समितिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रतिनिधिका रुपमा सहभागी हुनुभएका मन्त्री ज्ञवालीले भारतबाट विदेशसचिव र चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणका विषयमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले नेपालको परराष्ट्र नीति सधैं सन्तुलित नै हुने बताउनुभयो ।
नेपालको परराष्ट्र नीति सधैंभरि सन्तुलित नै रहेको भन्दै उहाँले दुवै छिमेकीसँग असल सम्बन्ध विकास गर्दै अगाडि बढ्ने र आर्थिक विकासबाट लाभ लिनेबाहेक अरु कुनै स्वार्थ नरहेको बताउनुभयो ।
मन्त्री ज्ञवालीले चीन र भारतको प्रतिस्पर्धामा नेपाल तटस्थ रहनेपनि बताउनुभयो ।
‘उहाँहरुको प्रतिस्पर्धामा नेपाल कहीँ पनि छैन । हुने कुरा पनि भएन’–उहाँले भन्नुभयो–‘उहाँहरुको बीचमा केही समस्या आयो भने वार्ता र संवादको माध्यमबाट समाधान गर्नुहोस् भन्ने चाहन्छ नेपाल ।’
यही साता छिमेकी मुलुकबाट हुने उच्चस्तरीय भ्रमणमा पनि नेपाल चीन र भारतलाई मिलेर अगाडि बढ्न चाहन्छ भन्ने सुझाव दिने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्