
काठमाडौं, मंसिर ११ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले साँस्कृतिक र धार्मिक केन्द्रहरु जोगाउने दायित्व सबैको भएको बताउनुभएको छ ।
मावन सभ्यताको विकासको प्रतीकका रुपमा रहेका सम्पदाहरुको संरक्षण र सम्वर्द्धनमा सबै मिलेर अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
नेपालमा रहेका मठ–मन्दिर, गुम्बा र चैत्यहरु नेपालको मानव जाति र सभ्यताका प्रतीकहरु रहेको उल्लेख गर्दै उहाँले ऐतिहासिक ठाउँहरुको विकासमा सबै एकजुट भएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।
बिहीबार चतुर्व्यूह नारायण मन्दिर नारायणहिटीद्वारको उद्घाटन कार्यक्रममा उहाँले ऐतिहासिक ठाउँहरुको संरक्षण र सम्वर्द्धन गरी युग–युगसम्म पनि बचाउनुपर्ने दायित्व हामी सबैको भएको उल्लेख गर्नुभएको हो ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य गगन थापाले नागपोखरी–भगवतीवहाल क्षेत्रलाई नारायणहिटी दरबार संग्रहालयसँग राखेर विकास गर्नुपर्ने बताउनुभयो ।
एउटै ‘प्याकेज’मा यी क्षेत्रहरुको विकास गर्नसके पर्यटकहरुलाई आकर्षित गर्न सकिने उहाँले बताउनुभयो ।
हरिबोधिनी एकादशीको अवसरमा नारायणहिटीद्वारको उद्घाटन गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्