
काठमाडौं, मंसिर ११ । कोरोना महामारीका कारण धार्मिक क्षेत्रहरु अहिले बन्द छन् । हिन्दुहरुको आराध्यदेव पाशुपत क्षेत्र पनि बन्द भएको लामो समय भइसकेको छ ।
यसबीचमा पशुपतिनाथ मन्दिरमा चढाइने भेटी र विशेष पूजाबाट हुने आम्दानीमा करिब एक अर्ब रुपैयाँ बराबरको घाटा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
दैनिक औसत १० हजार भक्तजन, २५ हजार आन्तरिक तथा बाह्य पर्यटक र पर्व विशेषमा पाँच लाखभन्दा बढी भक्तजन पुग्ने पाशुपात क्षेत्रमा मूल मन्दिर कोरोनाको जोखिमका कारण बन्द छ ।
पशुपतिमा भेटीबाट दैनिक एक लाख तथा विशेष पूजा र नगद तिरेर गरिने पूजा तथा चन्दाबाट दैनिक पाँचदेखि १० लाख आम्दानी हुने गर्थ्यो ।
बाह्य पर्यटकबाट पनि वार्षिक १७ देखि २० करोड रुपैयाँ आम्दानी हुँदै आएको थियो । तर, अहिले मन्दिर बन्द हुँदा कोषको आम्दानी पनि घटेको छ ।
घाट सेवाबाट प्राप्त हुने आम्दानी घाटको व्यवस्थापनमा खर्च हुँदै आएको कोषको भनाइ छ ।
विद्युतीय शवदाहगृहमा कोरोनाबाट मृत्यु भएकाहरुको मात्र अन्त्येष्टि गरिएको छ ।
मुख्य मन्दिरको नित्य पूजा, विशिष्ट पूजा, घाट सेवा, शवदाहगृहको सेवा भने निरन्तर भइरहेको छ । किरियापुत्री सेवा केही समय रोकिएपनि अहिले सुचारु भएको छ ।
तर, गंगा आरती भने रोकिएको छ ।
‘लकडाउन’यता करिब एक अर्ब हाराहारीमा घाटा व्यहोरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
पाशुपात क्षेत्रमा मानवीय चहलपहल हुँदा त्यहाँ रहेका परेवा, बाँदरलगायतका पशुपक्षीको आहारको जोहो हुने गर्दथ्यो भने अहिले त्यसको व्यवस्था कोष आफैंले गरेको छ । त्यस्तै, गाई, नन्दीलगायतका पशुपक्षीको स्याहार–सुसारको काम पनि कोषले गर्दै आएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय तथा ‘सीसीएमसी’सँग समन्वय गर्दै आगामी पुस महिनादेखि स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी मन्दिर खुला गर्ने तयारी कोषको छ ।
पशुपतिमा साउन महिनाको सोमबार, तीज, सोह्रश्राद्ध जनैपूर्णिमालगायतका पर्व तथा अवसरमा भक्तजनको आवागमन कम रह्यो भने मूल मन्दिर सर्वसाधारणको लागि बन्द छ ।
कोरोना महामारीका कारण यस वर्षको बाला चतुर्दशीमा पनि मन्दिर खुल्ने छैन ।
प्रतिक्रिया दिनुहोस्