१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


महोत्तरी प्रदर्शनमा मृत्यु भएको विषयमा छानबिन समिति गठन


0
Shares

काठमाडौं, मंसिर ११ । गृह मन्त्रालयले महोत्तरीमा बालिकाको हत्यापछि गएको मंगलबार प्रदर्शनका क्रममा भएको मृत्युको विषयमा छानबिन गर्न समिति गठन गरेको छ ।

प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर स्थानीय बुद्धिराज न्यौपाने गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा मंगलबारै राति काठमाडौंमा मृत्यु भएको थियो ।

सोही घटना सम्बन्धमा मन्त्रालयले बिहीबार उपसचिवको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो ।

बर्दिबास नगरपालिका–१४ की छ वर्षीया गुलाबसा खातुनको हत्यापछि प्रदर्शन चर्किएको थियो । बलात्कारपछि बालिकाको हत्या गरिएको भन्दै आफन्त र स्थानीयबासी प्रदर्शनमा उत्रिएका थिए ।

हत्या गरी बोरामा कोचेर फालिएको अवस्थामा खातुनको शव मंगलबार बिहान बर्दिबास–१४ स्थित उनको घरनजिकै फेलापरेको थियो ।

दोषीलाई कडा कारबाही गर्नुपर्ने मागसहित शव सडकमा राखेर गरिएको प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो ।

गोली लागेर न्यौपाने गम्भीर घाइते भएका थिए । बर्दिबासस्थित पिनाकल अस्पतालमा प्राथमिक उपचारपछि उनलाई थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो । उपचारकै क्रममा उनको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा मृत्यु भएको हो ।

प्रदर्शनका क्रममा घाइते भएका अरुको काठमाडौंमै उपचार भइरहेको छ ।

मन्त्रालयले मृतक खातुन र प्रदर्शनका क्रममा मृत्यु भएका न्यौपानेका परिवारलाई उचित राहत उपलब्ध गराउन प्रक्रिया अगाडि बढाइसकेको जनाएको छ ।

यस्तै, घाइतेहरुको उपचार खर्च सरकारले व्यहोर्ने प्रक्रिया पनि अगाडि बढाइएको जनाइएको छ ।

खातुनको हत्यामा संलग्नलाई पक्राउ गरी कानुनी कारबाही थालिएको मन्त्रालयले जनाएको छ ।