
काठमाडौं । नेपालमा कोरोनाका कारण थप ४ जनाको मृत्यु भएको छ । पछिल्लो १२ घण्टामा चितवन र मोरङमा गरी थप चार जनाको मृत्यु भएको हो ।
चितवनको भरतपुर अस्पतालमा उपचार गराइरहेका चितवन भरतपुर महानगरपालिका– १७ का ७७ वर्षीय पुरुष र मकवानपुर हेटौडा–१० का ५७ वर्षीय महिलाको मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिनुभयो ।
भरतपुर १७ का पुरुषमा मंसिर ३ गते कोभिड १९ को संक्रमण पुष्टि भएको थियो । हेटौडाकी ५७ वर्षीय महिलाको मंसिर ८ गते संक्रमण पुष्टि भएको थियो ।
यसैबीच सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ ।
मोरङ बेलबारी नगरपालिकाका ७६ वर्षीय वृद्धको उपचारका क्रममा गएराति मृत्यु भएको हो ।
मधुमेह र उच्च रक्तचापको समस्याबाट पीडित वृद्धमा मंसिर ३ गते कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानमा हालसम्म १ सय १३ जना संक्रमितको मृत्यु भएको छ ।
यस्तै विराटनगरमा कोरोना भाइरस संक्रमित सुत्केरीको मृत्यु भएको छ । गए राति नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा मोरङको रतुवामाई नगरपालिका–१० की २५ वर्षीया सुत्केरीको मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।
मृतक १७ दिनकी सुत्केरी हुन्। उपचारका क्रममा मृगौलामा खराबी पाइएको र मृतकमा निमोनियाको पुरानै समस्या भएको पाइएको छ ।
प्रतिक्रिया दिनुहोस्