२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


गुल्मी जीप दुर्घटनामा मर्नेको संख्या ६ पुग्यो


0
Shares

गुल्मी । गुल्मीमा शुक्रबार भएको जीप दुर्घटनामा मर्नेको संख्या ६ पुगेको छ । इस्मा गाउँपालिका –४ मा भएको दुर्घटनामा घटनास्थलमै पाँच जनाको र अर्का एक जनाको अस्पताल लैजाँदै गर्दा बाटामा मृत्यु भएको थियो ।

सदरमुकाम तम्घासका लागि छुटेको लु१ज ११६६ नंको जीप दुर्घटनामा परी मृत्यु हुनेमा इस्मा–४ का ६५ वर्षीय डम्बरबहादुर धिताल, ३३ वर्षीय चित्रबहादुर दर्लामी र धनबहादुर अछामी, ३० वर्षीय वसन्त दर्लामी र मालिका गाउँपालिका–५ ८० वर्षीया सुन्दरी थापा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रवीणलाल श्रेष्ठले बताउनुभयो ।

घाइते तीनमध्ये इस्मा–४ का १९ वर्षीय फर्सुराम थापालाई भने उपचारका लागि गुल्मी अस्पताल तम्घास ल्याइपुर्‍याए पनि बाटामै मृत्यु भइसकेको गुल्मी अस्पतालका प्रमुख डा उत्तम पाच्यले जानकारी दिनुभयो ।

दुर्घटनामा परी घाइते इस्मा–४ की २८ वर्षीया सरस्वती दर्लामी र २६ वर्षीय कमल धिताङको अहिले गुल्मी अस्पतालमा उपचार भइरहेको छ ।

दश यात्रु बोकेर सदरमुकामतर्फ आउँदै गरेको उक्त जीप ब्रेकफेल भई दुर्घटना हुँदा सडकबाट ४०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।