
चितवन । वन्यजन्तु तस्करीका लागि तस्करहरुले चितवनका चेपाङहरुलाई प्रयोग गर्दै आएका छन् ।
अशिक्षा, बेरोजगारी, गरिवी लगायतका समस्याले गर्दा यस समुदायका व्यक्ति आर्थिक प्रलोभनमा पर्ने गरेका छन् ।
विभिन्न अपराधमा संलग्न भएको पुष्टि भएसँगै हाल चितवनको कालिला नगरपालिकाका करिव ३० जना चेपाङहरु जेल चलान भए ।
तीमध्ये केही जेलमै छन् भने कोहि हिरासतमुक्त भएका छन् । हिरासतबाट बाहिर आएकाहरु पनि पुनः तस्करीमै लागेको पाइन्छ ।
जेलमा भएका र निस्किएकाहरु पुरानो दाग मेटाउन आतुर रहेका हुन् । राज्यको दृष्टि नपरेकाले सम्पूर्ण सेवा सुविधाबात वञ्चित हुँदा यस्तो अवस्था आएको उनीहरु बताउँछन् ।
राज्यले न्यूनतम पूर्वाधार तयार नपार्दा अशिक्षा गरिबीका कारण गैरकानुनी काममा लाग्नु बाध्यता भएको उनीहरको गुनासो छ ।
उनीहरुले रोजगारीमूलक कार्यक्रम ल्याएर राज्यले आफूहरुको कष्टकर जीवनशैलीमा परिवर्तन ल्याउनुपर्ने माग गरेका छन् ।
एउटै परिवारका ४ देखि ५ जना सदस्य तस्करीमा लागेका हुन्छन् । परिवारमा कमाउने मुख्य सदस्य जेलमा गएपनि आश्रित अन्य सदस्यहरुको विचल्ली हुँदै गएको छ ।
कलिला नगरपालिकाकी सलमाया प्रजाका ज्वाइँ गैंडा मारेको मुद्दामा अझै जेलजीवन बिताइरहनुभएको छ ।
ज्वाँइ जेलमा गएपछि नन्द र भान्जा भान्जीको पालनपोषण गर्न सलमायालाई बाध्यता रहेको छ ।
गाउँको विकास र रोजगारीको अवसर नभएकाले चेपाङ जातिहरुले तस्करी पेशा अपनाउने गरेको स्थानीयहरु बताउँछन् ।
चारैतिर जंगलले घेरिएको गाउँमा स्थानीय सरकारको समेत विकासका लागि प्राथमिकतामा नपरेको उनीहरुको गुनासो छ ।
राज्यबाट आफै संरक्षित नहुँदा वन्यजन्तु वा बहुमूल्य वनस्पतिको संरक्षणमा लाग्न नसक्ने उनीहरुको भनाइ छ ।
चेतनाको स्तरमा वृद्धि भएपनि आर्थिक अवस्थामा सुधार हुने कार्यक्रम नहुँदा चेपाङ समुदा रुपान्तरित हुन नसकेको कालिका सामुदायिक वनका अध्यक्ष माधव गिरीलको अनुभव छ ।
उहाँले चाँडै आयआर्जन गर्न सकिने कार्यक्रम संचालन नगर्ने हो भने चेपाङ बस्तीमा आगमी दिनमा अझ बढी गैरकानुनी गतिविधि बढ्ने उहाँको ठम्याइ छ ।
निकुञ्जसँग पर्याप्त बजेट र कार्यक्रम नभएपनि स्थानीय सरकारसँग समन्वय गरी अर्थोपार्जन हुने कार्यक्रम संचालनमा जोड दिने उहाँ बताउनुहुन्छ ।
रत्तननगर नगरपालिकाका नगरप्रमुख नारायण वनले छिट्टै गाउँको स्थलगत अवलोकन गरी सम्भावना भएका क्षेत्रहरुमा लगानी गर्ने प्रतिवद्धता जनाउनुभयो ।
करिव ७० घरधुरी रहेको गाउँमा कक्षा ३ सम्मको भन्दा विद्यालय छैन ।
विद्युत् र सडक सञ्जालको पँहुच नभएको चेपाङ बस्तीमा विकासका लागि राज्यले प्राथमिकताका साथ कार्यक्रम संचालन गर्नुपर्ने आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्