२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


नेपालमा कोरोनाका कारण कात्तिकमा मात्र झन्डै ५०० जनाको मृत्यु


0
Shares

corona

काठमाडौं, मंसिर १२ । नेपालमा कोरोना संक्रमण देखिएको नौ महिनाको अवधिमा एक हजार ४०० बढी व्यक्तिको संक्रमणका कारण मृत्यु भएको छ ।

पछिल्ला केही दिनयता संक्रमितको संख्या कम देखिएता पनि मृत्यु हुनेको संख्या भने उच्च रहँदै आएको छ ।

नेपालका कोरोना संक्रमण देखिएको दुई महिनापश्चात् अर्थात् जेठ ३ गते कोरोनाका कारण पहिलो मृत्यु भएको थियो ।

त्यसयता फाट्टफुट्ट हुँदै अहिले दैनिक औसत २० जनाभन्दा बढीको कोरोनाबाट ज्यान जान थालेको तथ्यांक छ ।

संक्रमणका कारण जेठदेखि मंसिर ११ गतेसम्म सात महिनाको अवधिमा एक हजार ४०० बढी व्यक्तिको मृत्यु भएको छ ।

जेठ अन्तिमसम्म १६ जनाको मृत्यु भएको थियो भने असारदेखि कात्तिक अन्तिमसम्ममा एक हजार २०० बढी व्यक्तिले ज्यान गुमाएका हुन् ।

यस्तै, मंसिर १ गतेदेखि ११ गतेसम्म जम्मा ११ दिनको अवधिमा मात्र १९१ जनाको कोरोनाका कारण मृत्यु भएको छ । जसमा सबैभन्दा धेरै मंसिर १० गते एकैदिन २८ जनाले ज्यान गुमाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारी जोखिम निकै बढेका कारण संक्रमणलाई सामान्यरुपमा नलिन आग्रह गर्नुहुन्छ ।

कोरोनाका कारण असार अन्तिमसम्म ३९ जना, साउन अन्तिममा १०४, भदौ अन्तिममा ३७९ जनाको मृत्यु भएको थियो ।

यस्तै, असोज अन्तिमसम्म ७२५ पुगेको संख्या कात्तिक अन्तिमसम्म एक हजार २२१ पुगेको हो । यसरी कात्तिक महिनामा मात्र ४९६ संक्रमितले ज्यान गुमाएका छन् । यसले मृत्युदर बढ्दै गएको पुष्टि हुन्छ ।

कोरोनाले ज्येष्ठ नागरिक र दीर्घरोगीलाई बढी असर पार्ने हुन्छ । मृत्यु हुनेहरुमा समेत ज्येष्ठ नागरिक र दीर्घरोगीको संख्या धेरै रहेको छ ।

सहप्रवक्ता डा. अधिकारी हाल परीक्षण गराउनेको संख्यासमेत घटेको एवं लापरबाही बढेकोमा चिन्ता व्यक्त गर्नुहुन्छ ।

लक्षण देखिएका सबैलाई सरकारी प्रयोगशालामा निःशुल्करुपमा परीक्षण गराउन जानसमेत उहाँको आग्रह छ ।

तर, स्वास्थ्य मन्त्रालयले प्रस्तुत गर्ने गरेको मृतकको विवरण र नेपाली सेनाले संकलन गरेको विवरणमा भने अझै ठूलो अन्तर देखिँदै आएको छ ।

मृतकको संख्यामा अन्तर भेटिएपछि मन्त्रालयले छानबिन गर्न समिति नै बनाएको थियो । तर, छानबिन समिति बनेको एक महिना पुगिसक्दा पनि मन्त्रालयले यसबारे स्पष्ट पार्न सकेको छैन ।

भिडियो हेर्नुहोस्

भिडियोः सुन्दर गुरुङ ।