
न्यूयोर्क, मंसिर १२ । नोभेम्बर २६ मा कोरोना महामारीकाबीच अमेरिकामा ‘थ्यांक्सगिभिङ’ पर्व मनाइएको छ । यो दिन उत्तर अमेरिकामा राष्ट्रिय बिदाका रुपमा मनाउने गरिन्छ ।
यो दिन वर्षमा भएको उब्जनी र अन्य आशीर्वादका रुपमा मनाउने गरिन्छ ।
अमेरिकामा ‘थ्यांक्सगिभिङ डिनर’का रुपमा टर्की चराको भोज गर्ने प्रचलन रहेको छ । थ्यांक्सगिभिङमा परिवारसँग बसेर टर्कीका विभिन्न परिकारहरु खाने चलन रहेको छ ।
नेसनल टर्की फेडेरेसनकाअनुसार हरेक वर्ष थ्यांक्सगिभिङ मनाउनेक्रममा ४६ मिलियन टर्कीहरु खाइन्छ ।
क्रिसमसमा २२ मिलियन र इस्टरमा १९ मिलियन टर्की खाइने नेसनल टर्की फेडेरेसनको तथ्यांक रहेको छ ।
९५ प्रतिशत अमेरिकनहरुले थ्यांक्सगिभिङमा टर्की खाने गरेको तथ्यांक रहेको छ ।
अमेरिकामा मात्र हरेक थ्यांक्सगिभिङमा ६७५ मिलियन पाउन्ड टर्की खपत हुने गरेको जनाइएको छ ।
बचेको टर्की स्यान्डवीच, सुप, सलादका रुपमा थ्यांक्सगिभिङपछिका दिनमा खाने गरिन्छ ।
पहिलो थ्यांक्सगिभिङ डिनर सन् १६२१ म तीर्थयात्रीहरुले खाएको बताइन्छ । त्यतिबेला अन्न उब्जनीको उत्सवमा थ्यांक्सगिभिङ डिनर गरिएको र त्योयता यो पर्व मनाउन सुरु गरिएको विश्वास गरिन्छ ।
त्यतिबेला उपनिवेशको पहिलो सफल अन्न उब्जनीका रुपमा मनाइएको थियो ।
अमेरिकी राष्ट्रपति अब्राहम लिंकनले सन् १८६३ देखि थ्यांक्सगिभिङलाई राष्ट्रिय पर्वका रुपमा मनाउने घोषणा गरेका थिए ।
केही वर्षयता अमेरिकामा रहने प्रवासी नेपालीहरु पनि यो पर्वलाई धुमधामसँग मनाउँदै आएका छन् । अमेरिकाको न्यूयोर्कमा करिब २० हजार नेपालीहरु रहेको अनुमान छ ।
प्रतिक्रिया दिनुहोस्