१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


उद्योग वाणिज्य महासंघको मतदान सम्पन्न


0
Shares

काठमाडौं, मंसिर १३ । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वको लागि शनिबार मतदान सम्पन्न भएको छ ।

महासंघको ५४औं वार्षिक साधारणसभाको बन्दसत्र सम्पन्न भएसँगै आउँदो वरिष्ठ उपाध्यक्षलगायत पदाधिकारी चयनका लागि मतदान भएको हो ।

६३ पदका लागि १२७ जनाको उम्मेदवारी परेको छ ।

मतदानका लागि काठमाडौंका तीन ठाउँमा मतदान केन्द्र तोकिएको थियो । जिल्ला/नगरतर्फका लागि प्रज्ञा प्रतिष्ठान कमलादीमा, एसोसिएटतर्फका लागि कार्की बैंक्वेट थापाथली र वस्तुगततर्फका लागि महासंघको केन्द्रीय कार्यालय टेकुमा मतदान भएको हो ।

कोरोना संक्रमित मतदाताहरूका लागि पनि प्रज्ञा प्रतिष्ठानमै छुट्टै मतदानको व्यवस्था मिलाइएको थियो ।

कुनै विवाद र समस्या नआए शनिबारै राति मतपरिणाम आउने निर्वाचन समितिले जनाएको छ ।

महासंघको वर्तमान विधानअनुसार वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष हुनुहुनेछ । वरिष्ठ उपाध्यक्षसहित अन्य बाँकी पदहरूमा मात्र चुनाव भएको हो ।

महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि वर्तमान उपाध्यक्षद्वय चन्द्रप्रसाद ढकाल र किशोर प्रधान समूहबीच तीव्र प्रतिस्पर्धा हुँदैछ । दुवै प्रतिस्पर्धीले निर्वाचन सम्पन्न भएपछि कुनैपनि पक्ष विपक्ष नभइ महासंघ एउटै हुने बताउनुभयो ।