२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


दाङमा ११ किसान हत्याको १९ वर्ष पूरा, पीडित परिवारले पाएनन् न्याय


0
Shares

दाङ, मंसिर १३ । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर–१७ मा अवस्थित बर्गदीमा ११ जना किसानको हत्या भएको शनिबार १९ वर्ष पूरा भएको छ ।

घटना घटेको १९ वर्ष पूरा भइसक्दा पनि पीडितहरुले न्याय र सम्मानको अनुभूति गर्न पाएका छैनन् ।

तत्कालीन विद्रोही माओवादीको सशस्त्र द्वन्द्व दबाउन राज्यले देशमा संकटकाल घोषणा गरेको दुई दिनपछि बर्गदीमा ११ जना किसानको सामूहिक हत्या गरिएको थियो । पीडित परिवारकोे दुःख अहिलेसम्म सरकारले देखेको छैन ।

राज्यले अहिलेसम्म मारिएका किसानहरुको परिवारलाई न न्याय दिन सकेको छ, न कुनै सम्मान नै गर्न सकेको छ ।

कष्टकर जीवन बिताइरहेका परिवारहरु राज्यबाट पाउनुपर्ने सेवा–सुविधाबाटसमेत वञ्चित छन् ।

सरकारले अरु केही नगरेपनि घरको एकजना सदस्यलाई रोजगारी भएपनि दिनुपर्ने उनीहरु बताउँछन् ।

तत्कालीन राज्य र विद्रोही माओवादीबीच विस्तृत शान्ति–सम्झौता भएको पनि १४ वर्ष बितिसकेको छ ।

शान्ति–सम्झौताअनुसार गर्नुपर्ने कार्यहरु धेरै पूरा भएपनि संक्रमणकालीन न्यायको विषय भने ओझेलमा छ ।

मंसिर १३ गते घोराही उपमहानगरपालिका–१७, बर्गदीमा ११ जना निर्दोष किसानको घोराहीबाट गएको तत्कालीन शाही सेनाले हत्या गरेको थियो ।