१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


उद्योग वाणिज्य महासङ्घ निर्वाचन, कसको मत कति ?


0
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा व्यवसायी चन्द्रप्रसाद ढकाल निर्वाचित हुनुभएको छ ।

आज बिहान सम्पन्न मतगणनामा ढकालले आफ्ना प्रतिद्वन्द्वी किशोर प्रधानलाई पराजित गर्नुभएको हो । महासङ्घको नयाँ नेतृत्वका लागि शनिबार निर्वाचन भएको थियो ।

महासङ्घको निर्वाचन समितिका अनुसार विजयी हुनुभएका ढकालले ३० प्रतिशत मत भार रहेको एशोसिएटमा ५२२ मत प्राप्त गर्दा प्रधानले ३७५ मत पाउनुभएको थियो ।

यस्तै २० प्रतिशत मत भार रहेको वस्तुगतमा ढकालले ५९ मत र प्रधानले ३९ मत प्राप्त गर्नुभयो । त्यसैगरी ५० प्रतिशत मतभार रहेको जिल्ला/नगरतर्फ ढकालले ५२ मत तथा प्रधानले ५३ मत प्राप्त गर्नुभयो ।

निर्वाचन समितिका अनुसार वरिष्ठ उपाध्यक्षमा विजयी ढकालले समग्रमा ५४.२६ प्रतिशत मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी प्रधानले ४५.७४ प्रतिशत मत प्राप्त गर्नुभयो ।

यो विजयसँगै ढकाल निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घको २०औँ अध्यक्ष बन्ने निश्चित भएको छ ।

महासङ्घको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै आगामी कार्यकालको अध्यक्ष बन्ने व्यवस्था छ । सोही विधानअनुसार हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले अध्यक्षको जिम्मेवारी सम्हाल्दै हुनुहुन्छ ।

वरिष्ठ उपाध्यक्षसहित अन्य पदका लागि ढकाल र प्रधान समूहले प्यानल नै बनाएर उम्मेदवारी दिनुभएको थियो ।

त्यसमा वस्तुगततर्फको उपाध्यक्षमा अञ्जन श्रेष्ठ, जिल्ला नगरतर्फ दिनेश श्रेष्ठ विजयी हुनुभयो । उहाँहरु दुुवै जना प्रधान समूहबाट निर्वाचनमा भाग लिनु भएको थियो ।

वस्तुगततर्फ विजयी हुनुभएका अञ्जन श्रेष्ठले ६२ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी उमेशलाल प्रधानले ३७ मत पाउनुभयो ।

जिल्ला नगरतर्फका उपाध्यक्ष दिनेश श्रेष्ठले ५८ मत प्राप्त गरी विजयी हुँदा ढकाल समूहका गुणनिधि तिवारीले ४७ मत प्राप्त गर्नुभयो ।

यस्तै एसोसिएट्सतर्फ ढकाल समूहका रामचन्द्र संघाई विजयी हुनुभएको छ । संघाईले ४५५ मत प्राप्त गर्दा उहाँका प्रतिद्वन्द्वी सौरभ ज्योतीले ४३४ मत प्राप्त गर्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगर तर्फको कार्यकारिणी सदस्यको नतिजा पनि आएको छ ।

महासंघको जिल्ला नगरमा राजन श्रेष्ठ ७९, तारानाथ अधिकारी ७२, कमलकुमार श्रेष्ठ ७०, चक्रबहादुर अधिकारी ६७, अरुनराज सुमार्गी ६६, देबकुमार श्रेष्ठ ६४, रामेश्वर मानन्धर ६३, शोभाकान्त पौडेल ७०, सुरकृष्ण वैद्य ६१, गजृन्द्र भगत ६८, कुविरकुमार श्रेष्ठ ५८, कमानबहादुर खड्का ६२, डीबी बस्नेत ५८ विजयी भए ।

गोपाल केडिया ५५, महेन्द्र कुमार श्रेष्ठ ५४, कमलकुमार श्रेष्ठ ५३, उमेश डालमालिया ५३, किशोरकुमार आचार्य ५२ मत ल्याएर विजयी भए ।

नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमितिका लागि आज भएको निर्वाचनको एशोसिएट सदस्यतर्फको पनि मत गणना सकिएको छ ।

जिल्ला नगरजस्तै यस समूहबाट निर्वाचित हुने सदस्यहरुमा पनि अधिकांश किशोर प्रधान समूहबाट आएका छन् । यस समूहबाट कार्यकारिणी सदस्यमा कुल १९ पदका लागि ३१ जनाले उम्मेदवारी दिएका थिए ।

त्यसमध्ये १० जना किशोर प्रधान प्यानलका र ८ जना चन्द्र ढकाल प्यानलबाट निर्वाचित भएका छन् । यसबाहेक ढकाल समूहका विराट थापा र प्रधान समूहका मंगेशलाल श्रेष्ठको समान ४५७ मत आएको छ । उनीहरुमध्ये एक जनालाई गोलाप्रथाबाट चुनिने बताइएको छ ।

निर्वाचित हुनेमा अम्बिका प्रसाद पौडेलले सर्वाधिक मत ल्याए । यससँगै अन्य निर्वाचित एशोसिएट सदस्यहरुमा अविनाश बोहरा, आनन्द बगडिया, कृष्ण लाल महर्जन, गोपाल खनाल ज्योत्सना श्रेष्ठ, देशबन्धु बस्नेत, प्रबल जंग पाण्डे, भरत राज आचार्च, रञ्जित आचार्य, राजेश कुमार अग्रवाल, विजयसिंह वैद्य छन् ।

यस्तै, शक्ति कुमार बेगानी, शाहिल अग्रवाल, शैलेन्द्र गुरागाई, सुशिल थापा, सञ्जय गिरि र हेमन्त गोल्छा पनि महासंघको एशोसिएट समूहबाट कार्यकारिणी सदस्यमा निर्वाचित भएका छन् ।

त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्यमा प्रदेश तर्फ बागमति बाहेक अरु प्रदेशको परिणाम आएको छ ।

प्रदेश १ मा राजेन्द्रकुमार राउत निर्विरोध चुनिएका थिए । २ नम्बरबाट विजयकुमार शाह, गण्डकीबाट बाबुराम गिरी, लुम्बिनीबाट शमशेर मिया, कर्णालीबाट लालिममान बुढा र सुदरपश्चिममा पुष्पराज कुमारले चुनाव जितेका छन् ।