८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


भारतीय ‘डीटीएच’ प्रविधिको प्रयोग रोकिएन, राष्ट्रियतामाथि नै गम्भीर असर गर्ने खतरा


0
Shares

इमेज जिल्ला ब्यूरो

काठमाडौं, साउन १७ । तराईका कतिपय ठाउँमा अझैपनि टेलिभिजन हेर्न अवैधरुपमा भारतीय ‘डीटीएच’ प्रविधिको प्रयोग भइरहेको छ ।

नेपाली बजारमा भारतीय ‘सेटअप बक्स’ किन्न नपाइने भएपनि सीमापारिबाट ल्याएरै भारतीय ‘स्याटेलाइट’ प्रविधि प्रयोग भइरहेको हो ।

टेलिभिजन हेर्न नेपाली डीटीएच प्रविधिको प्रयोग गर्नुपर्ने भएपनि तराईका अधिकांश सीमा क्षेत्रमा भारतीय स्याटेलाइटकै वर्चश्व देखिएको छ ।

सीमा क्षेत्रका अधिकांशले भारतीय डिजिटल प्रविधिमार्फत् टेलिभिजन च्यानल हेर्ने गरेको पाइएको हो ।

यसले नेपाल सरकारको राजश्व घट्ने भएकाले ठाउँठाउँमा कडाइ पनि गरिएको छ । तर, लुकिछिपी सीमापारिबाट सेटअप बक्स ल्याएर प्रयोग गर्ने प्रवृत्ति व्याप्त छ ।

भारतीय सेटअप बक्स प्रयोग गर्दा भारतीय च्यानलमात्रै आउने भएकाले नेपालकाभन्दा भारतका गतिविधिसँग जनता परिचित हुने देखिएको छ ।

सीमा क्षेत्रमा भारतीय डीटीएच प्रविधिको प्रयोग बढी रहेकाले नेपालमा रहेका विभिन्न डिजिटल प्रविधिको प्रयोग बढ्न सकेको छैन ।

एकपटक प्रयोग गरेपछि निःशुल्क हुने भएकाले भारतीय प्रविधिको प्रयोग गरिएको सेवाग्राही बताउँछन् ।

सरकारी अनुगमन फितलो हुँदा नेपालका डिजिटल प्रविधि ओझेलमा परेर भारतीयकै वर्चश्व देखिएको व्यापारीहरुको गुनासो छ ।

तराईका सहरी क्षेत्रमा प्रायः नेपालकै डिजिटल प्रविधि प्रयोग भइरहे पनि सीमा क्षेत्रका उपभोक्ताले निर्वाधरुपमा भारतीय स्याटेलाइटको प्रयोग गरिरहेका छन् । यसबाट हाम्रो संस्कृति र राष्ट्रियतामाथि नै गम्भीर असर गर्ने खतरा उत्तिकै देखिन्छ ।

सरकारले केही समयअघि ‘एनालग’ टीभीलाई डिजिटल बनाउनुपर्ने प्रावधान ल्याएको थियो ।

राजस्वमा नोक्सानी भइरहेको भन्दै टेलिभिजन प्रयोगकर्तालाई सेटअप बक्स अनिवार्यरुपमा राख्नुपर्ने भनिएपनि भारतीय स्याटेलाइटको प्रयोग पूर्णनियन्त्रण नहुँदा अपेक्षित लाभ उठाउन सकिएको छैन ।

डिजिटलमा गएपछि कर संकलनमा उल्लेख्य सुधार हुने अपेक्षा गरेको सरकारले सबैलाई यसको परिधिभित्र समेट्न सकेको देखिन्न ।

भिडियो हेर्नुहोस्