
काठमाडौं, मंसिर १५ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बजेट खर्च र राजस्व संकलनमा प्रभावकारी काम गर्न विषयगत मन्त्रालयहरुलाई निर्देशन दिनुभएको छ ।
चालू आर्थिक वर्ष (२०७७/०७८)को पहिलो चौमासिकमा बजेट कार्यान्वयनको समीक्षा गर्न धनगढीमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री भट्टले बजेट कार्यान्वयनमा प्रभावकारी काम गर्न निर्देशन दिनुभएको हो ।
कार्यक्रममा प्रदेशका प्रमुखसचिव रामकृष्ण सुवेदीले राख्नुभएको खर्च र आम्दानीको प्रतिवेदनमाथि छलफल भएको थियो ।
सुदूरपश्चिम प्रदेशमा चालू आर्थिक वर्षको पहिलो चौमासिकमा कुल बजेटको ६.२९ प्रतिशत अर्थात् दुई अर्ब नौ करोड ८६ लाख रुपैयाँ बढी खर्च भएको छ । यस्तै, राजस्व संकलनतर्फ कुल लक्ष्यको ६४.४५ प्रतिशतले बढी राजस्व संकलन भएको छ ।
यस्तै, विषयगत मन्त्रालयका सचिवहरुले पनि आ–आफ्नो मन्त्रालयको प्रगति विवरण सार्वजनिक गरेका थिए ।
सबै मन्त्रालयको कार्यप्रगति हेरिसकेपछि मुख्यमन्त्री भट्टले जनअपेक्षाअनुसारका काम गर्न विषयगत मन्त्री र सचिवहरुलाई निर्देशन दिनुभयो ।
कार्यक्रममा पहिलो चौमासिकमा सुदूरपश्चिम प्रदेशसभा सचिवालयले सबैभन्दा बढी खर्च गरेको र आर्थिक मामिला तथा योजना मन्त्रालयले सबैभन्दा कम खर्च गरेको तथ्यांक प्रस्तुत गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्