
काठमाडौं, मंसिर १५ । घरबाट लाखौं रुपैयाँ नगद र गरगहना चोरी भएको नाटक गर्ने एक महिला पक्राउ परेकी छन् ।
ललितपुरको महालक्ष्मी नगरपालिका–१ की कान्छी पोडे नगद र गरगहना चोरी भएको नाटक गरेको अभियोगमा पक्राउ परेकी हुन् ।
महानगरीय प्रहरी परिसर ललितपुरले झुटो अफवाह फैलाएको आरोपमा आइतबार ती महिलालाई पक्राउ गरेको हो ।
पोडेले घरमा २६ लाख रुपैयाँ र सुनका गहनासमेत चोरी भएको भन्दै सातदोबाटो वृत्तमा खबर गरेकी थिइन् ।
वृत्तका प्रमुख मित्रबन्धु शर्माको कमान्डमा खटिएको प्रहरी टोलीले उक्त रकम र सामग्री सोही घरमा लुकाएर राखेको अवस्थामा फेलापारेको थियो ।
घटनाबारे उजुरी गरेकी महिलासँगै सोधखोज गर्दा नाटक गरेको खुलेसँगै प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनास्थलमा प्रहरी पुग्दा ढोका, दराज फोडिएको एवं सामानहरुसमेत छरपष्ट अवस्थामा रहेको थियो ।
तर, घटनाबारे सूक्ष्म अनुसन्धान गर्नेक्रममा प्रहरीले चोरी भएको भनिएको नगद तथा गहनाहरु फेलापारेकोले झुटो अफवाह फैलाएको अभियोगमा कान्छी पोडेलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रज्ज्वल महर्जनले बताउनुभयो ।
घटनाका सन्दर्भमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्