१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


श्रीलंकाको जेलमा कोभिड–१९ को कारण दंगा, आठजनाको मृत्यु


0
Shares

कोलोम्बो, मंसिर १५ । श्रीलंकाको राजधानी कोलोम्बोको बाहिरी इलाकामा रहेको एक कारागारमा भएको दंगामा परी आठ व्यक्तिको मृत्यु भएको छ ।

यस दंगामा मारिएका सबै व्यक्ति कैदी नै भएका जनाइएको छ ।

दंगामा परी अन्य ४५ जना घाइते भएका छन् । घाइते भएकाहरुमा सुरक्षाकर्मी पनि रहेका छन् ।

कारागारमा कोरोनाभाइरसको प्रकोप बढ्न थालेपछि बन्दीहरूले धरौटीमा मुक्त हुन पाउनुपर्ने र थप सेवा–सुविधाको माग गर्दै प्रदर्शन गरेका थिए ।

राजधानी कोलोम्बोस्थित वेलिकाडा जेलका बन्दीहरूले छानामा चढेर आफूहरूलाई धरौटीमा छोडियोस् भन्दै प्रदर्शन गरेका हुन् ।

बन्दी र कारागारमा खटिएका सुरक्षाकर्मीहरूबीच भएको भडपमा परी कम्तीमा आठ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ४५ जना घाइते भएका बताइएको छ ।

श्रीलंकाको जेलहरूमा अहिलेसम्म करिब १,००० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

कारागारमा रहेका बन्दीहरुले सुरु गरेको दंगा अनियन्त्रित भएपछि नियन्त्रणमा लिनको लागि बल प्रयोग गर्नुपरेको प्रहरी प्रवक्ता अजित रोहना बताउनुभएको छ ।

सो दंगामा घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको प्रहरी प्रवक्ता रोहनाले बताउनुभएको छ ।

कारागारमा सुरक्षा बढाउन विशेष तालिमप्राप्त कमान्डोहरूको टोली झिकाइएको पनि रोहनाले बताउनुभएको छ ।

श्रीलंकामा कोरोना सुरु भएयता २३ हजार ४०० भन्दा बढीमा कोभिड–१९ को संक्रमण देखिएको र यस संक्रमणबाट ११६ जनाको मृत्यु भइसकेको छ ।