२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


यो हो राणाकालीन डिपार्टमेन्टल स्टोर ! (भिडियो)


39
Shares

काठमाडौं, मंसिर १५ । किनमेलका लागि डिपार्टमेन्टल स्टोरमा जाने संस्कृति अहिले विश्वव्यापी छ ।

तर, अहिले विकसित मानिएका देशमा डिपार्टमेन्टल स्टोरहरु नखुल्दै नेपालमा डिपार्टमेन्टल स्टोरको अवधारणा आइसकेको थियो । राणाकालमा त यसको राम्रै विकास पनि भयो ।

काठमाडौंको मुटु भद्रकाली मन्दिर परिसरमा रहेको पसलका कओलहरु । अहिलेको पुस्तालाई सायदै थाहा होला, यो कुनै बेला डिपार्टमेन्टल स्टोर थियो ।

राणाकालीन डिपार्टमेन्टल स्टोर, जहाँ उच्च घरानाका व्यक्तिहरु किनमेलका लागि आउँथे ।

श्री ३ चन्द्रशमशेर राणा बेलायत भ्रमणबाट फर्केलगतै यहाँ डिपार्टमेन्टल स्टोर सञ्चालनमा आएको थियो । जहाँ विदेशबाट आयातित सामान पाइन्थ्यो ।

धेरैजसो ग्राहक राजपरिवार, राणा परिवार, उच्च घराना, विदेशी नियोगका उच्चपदस्थ व्यक्ति र काठमाडौंका उच्च रैथानेहरु हुन्थ्ये । जसको नाम थियो, ‘भद्रकाली हाउस’ ।

यहाँ विदेशबाट आयातित मदिरा, बिस्कुट, चकलेट, घडी, ग्रामोफोन, गरगहनालगायतका सरसामानहरु पाइन्थे ।

यसका सञ्चालक थिए, महाबौद्धका नेवार व्यापारी जनकलाल श्रेष्ठ र ताहाचलका लालबहादुर जोशी । उनीहरुले चन्द्रशमशेर बेलायत भ्रमणबाट फर्केको बेला थानकोटदेखि कालीमाटीसम्म स्वागतद्वार बनाएर स्वागत गरेका थिए ।

पछि चन्द्रशमशेर खुसी भएर भद्रकालीमा डिपार्टमेन्टल स्टोरको रुपमा ‘भद्रकाली हाउस’ सञ्चालन गर्न उनीहरुलाई अनुमति दिएका थिए ।

श्रेष्ठका नाति सुवर्णलाल श्रेष्ठका अनुसार १०० वर्षको लागि भद्रकाली मन्दिरको उत्तर क्षेत्रको भुइँतल्लामा स्टोर सञ्चालन गर्न दिएको बताउनुहुन्छ ।

बच्चा बेलामा टुँडिखेलको बीचमा बसेर खाता र हिसाब–किताब राख्न बुवाले सिकाएको सम्झना उहाँलाई अहिलेपनि ताजै छ ।

तर, २०१३ सालमा बाजेको निधनपछि ‘भद्रकाली हाउस’ले निरन्तरता पाउन नसकेको उहाँले बताउनुभयो ।

अहिले यहाँ विभिन्न खेलकुदका सामग्रीहरु किन्ने ठाउँ बनेको छ । अन्य संघ–संस्थाको कार्यालय रहेको छ ।

श्रेष्ठले यो राणाकालीन ‘ब्रान्ड’ भएकाले ‘भद्रकाली हाउस’ ब्रान्डलाई प्रवर्द्धन गर्नसके राम्रो हुने बताउनुहुन्छ ।

विदेशी प्रभावले यहाँको स्थानीय धेरै ब्रान्डहरु ओझेलमा परेका छन् । इतिहासलाई सम्झन सक्ने हो भने अहिलेपनि स्थानीय ब्रान्डलाई ‘प्रोमोसन’ गर्न सकिन्छ ।

भिडियो हेर्नुहोस्

भिडियोः सुन्दर गुरुङ ।