
खोटाङ, मंसिर १५ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका अर्ग्यानिक नगर बन्ने भएको छ ।
प्रांगारिक मल र बायोग्यास उत्पादन गर्ने लक्ष्यका साथ नगरमा प्रांगारिक मल उद्योग र बायोग्यास प्लान्ट स्थापना गरिएको छ ।
जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारनजिकै रहेको सोल्मामा प्रांगारिक मल उद्योग र बायोग्यास प्लान्टको स्थापना गरिएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले गौरवको आयोजनाका रुपमा यसलाई दुई वर्षअगाडि नै सुरुआत गरेको थियो ।
नगरपालिकालाई अर्ग्यानिक नगर बनाउने उद्देश्यका साथ निर्माण भएको प्रांगारिक मल उद्योग र बायोग्यास प्लान्टको काम सम्पन्न भएको छ ।
मल लगाउने बोरा छपाइमा केही ढिलाइ भएको भन्दै अबको केही महिनाभित्रमै नगरभित्रका किसानलाई प्रांगारिक मल वितरण सुरुआत गरिने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजालले जानकारी दिनुभयो ।
दिक्तेलबजार, सोल्मा, बाम्राङ, नेर्पालगायत आसपासका स्थानीय बासिन्दाको घरबाट निस्कने कुहिने, सड्ने र मक्किने वस्तुलाई प्रशोधन गरेर प्रांगारिक मल उत्पादन गर्ने तथा मानव मलमूत्रबाट बायोग्यास उत्पादन गर्ने लक्ष्यका साथ सोल्मामा प्रांगारिक मल उद्योग र बायोग्यास प्लान्ट स्थापना गरिएको नगरपालिकाका कृषिशाखा संयोजक धमेन्द्र कोलोनीले बताउनुभयो ।
संघीय सरकारको विशेष अनुदानमा निर्माण सुरु गरिएको कम्पोष्ट मल प्लान्टमा करिब चार करोड रुपैयाँ खर्च भइसकेको छ ।
वरपर पाइने स्याउला, पत्कर, गोबर तथा बजारमा पाइने कुहिने सामग्री संकलन गरेर प्रशोधन गर्दै प्रतिघन्टा एक हजार केजी प्रांगारिक मल उत्पादन गर्न सकिने कम्पोष्ट प्लान्ट इन्चार्ज प्रविन अधिकारीको भनाइ छ ।
१० स्थानीय तह रहेको जिल्लाको सबैभन्दा ठूलो यस नगरपालिकालाई पाँच वर्षभित्र पूर्ण प्रांगारिक क्षेत्र बनाउने तयारी भइरहेको छ ।
वडा नम्बर–९ निर्मलीडाँडा, १० पाथेका, ११ खार्मी, १२ जालपा, १३ नुनथलालाई अर्ग्यानिक वडा घोषणा गरिएको छ ।
यहाँ प्रयोग हुँदै आएको विषादीलाई निरुत्साहित र स्थानीय कृषकहरुलाईसमेत अर्ग्यानिक खाद्यबालीको फाइदाका बारेमासमेत नगरपालिकाले जानकारी गराउँदा नगरबासीसमेत खुसी देखिन्छन् ।
प्रतिक्रिया दिनुहोस्