२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


सातै प्रदेशमा ३९६ आधारभूत अस्पताल निर्माणका लागि एकैपटक शिलान्यास


0
Shares

काठमाडौं, मंसिर १५ । सरकारले देशका ३९६ स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि सोमबार एकैदिन अस्पताल भवनको शिलान्यास गरेको छ ।

स्थानीय तहसम्म आधारभूत स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले सरकारले सोमबार एकैसाथ ३९६ ओटा अस्पताल भवनको शिलान्यास गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणमा अस्पताल नपुगेका ३९६ पालिकामा पाँचदेखि १५ शय्याको अस्पताल बनाउन लागेको हो ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पनि ललितपुरको गोदावारी नगरपालिकामा बन्न लागेको बज्रवाराही चापागाउँ अस्पतालको भवन शिलान्यास गर्नुभएको छ ।

भवन शिलान्यास गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले देशका ३९६ स्थानीय तहमा एकसाथ पाँच शय्या, १० शय्या र १५ शय्याका पालिकास्तरका आधारभूत अस्पतालहरुको शिलान्यास गरिएको बताउनुभयो ।

यस्तै, सातओटा प्रदेशमा ५०/५० शय्याका सरुवारोग अस्पतालहरुको पनि एकैसाथ निर्माण गर्न लागिएको अर्थमन्त्री पौडेलले बताउनुभयो ।

पालिकास्तरमा निर्माण हुन लागेका ३९६ ओटा आधारभूत अस्पतालका लागि ५७ अर्ब ९५ करोड ११ लाख रुपैयाँको बजेटको स्रोत सुनिश्चितता भइसकेको पनि अर्थमन्त्री पौडेलले बताउनुभयो ।

यस्तै, सातओटै प्रदेशमा निर्माण हुने सरुवारोग अस्पतालका लागि प्रतिअस्पताल आठ करोड रुपैयाँको दरले बजेट सुनिश्चित गरिएको पनि अर्थमन्त्री पौडेलले बताउनुभयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार प्रदेश नम्बर–१ मा ८६ पालिकामा, प्रदेश नम्बर–२ मा ५३ पालिकामा, वाग्मती प्रदेशमा ५१ पालिका, गण्डकी प्रदेशमा ५३ पालिका, लुम्बिनी प्रदेशमा ५७ पालिका, कर्णाली प्रदेशमा ४२ पालिका र सुदूरपश्चिम प्रदेशमा ५४ पालिकामा अस्पताल बनाउनका लागि एकैसाथ शिलान्यास गरिएको हो ।