
काठमाडौं, मंसिर १५ । सोमबार पनि सेयरबजार उकालो लाग्दै नेप्सेमा नयाँ उचाइ कायम हुनेक्रम जारी रह्यो ।
उतार–चढावबीच नेप्से २९ अंकले बढेर दुई हजारनजिक पुगेको छ । यसदिन परिसूचकले १९ सय ९७ को रेकर्ड कायम गर्यो ।
सोमबार जीवन बिमा समूहमा सबैभन्दा उच्च ८ सय २३ अंकको वृद्धि आयो । निर्जीवन बिमा समूह पनि १९३ र व्यापार समूह १५३ अंकले उकालो लागे । जलविद्युत् समूहमा पनि ८९ अंकको वृद्धि आयो ।
यस्तै, उत्पादनमूलक समूहमा ७३ अंक, अन्य समूहमा ४० अंक र लघुवित्त समूहमा पनि ३७ अंकको सुधार आयो ।
यसदिन वाणिज्य बैंक, सामूहिक लगानी कोष र वित्त समूह भने सामान्य अंकले ओरालो लागे ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १९८ कम्पनीको दुई करोड ५१ लाख कित्ता सेयर आठ अर्ब ८६ करोडमा कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
आइतबार नौ अर्ब २२ करोड रुपैयाँको सेयर किनबेचको कीर्तिमान कायम भएको थियो ।
प्रतिक्रिया दिनुहोस्