
ललितपुर । ललितपुर महानगरपालिकाले महानगरको वडा नं १९ मा रहेको प्रचीन सम्पदा अग्निशाला भवनमा तामाको छाना राखिने भएको छ ।
गौरवशाली योजना अन्तर्गत महानगरले तामाको छाना राख्न ४० लाख दिएको हो । अहिले उक्त भवनमा जस्ताको छाना छ ।
धार्मिक मान्यता अनुसार पूजा अर्चना गरिने स्थानको जिर्णोद्धार वा पुनर्निर्माण गर्नुअघि क्षमापूजा गर्ने परम्परा छ ।
जस अनुसार महानगर प्रमुख चिरीबाबु महर्जनले सोमबार क्षमापूजा गर्नुभयो । महानगर प्रमुख महर्जनले सम्पदा संरक्षणलाई महानगरले प्राथमिकता राखेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘महानगरको यो प्रचीन संम्पदा संरक्षणको लागि बजेट छुट्याएको हो, काम एकदम राम्रोसँग गर्न आग्रह गर्छु ।’ क्षमापूजा लगत्तै काम थालिने महानगरले जनाएको छ ।
अग्निशाला व्यवस्थापन समितिका अध्यक्ष निगेन्द्रराज शर्माका अनुसार अग्निशालामा पाँचवटा छुट्टाछुट्टै धुनी छन् । यी धुनीमा निरन्तर आगो बलिरहन्छ ।
धार्मिक मान्यता अनुसार काठबालेर निकालिएको काष्ठाग्नी, ढुंगा रगडेर निकालिएको पासाग्नी, सूर्यको रापबाट निकालिएको सूर्याग्नी, पानीबाट निकालिएको जलाग्नी, अग्निहोत्री बज्यैको नाइटोबाट निकालिएको जठराग्नी यी पाँच फरक फरक नामका अग्नी पाँच धुनीमा बालिन्छ ।
यस शालामा पूजा पाठ गर्दा लागेका ग्रह दशा हटेर जान्छ भन्ने मान्यता छ । यहाँका पुजारीहरुका अनुसार यो शालाको बारेमा उल्लेख भएको शिलालेखहरु हालसम्म कतै भटिएको छैन, तर चार हजार बर्ष अघि निर्माण भएको अनुमान उनीहरुले लगाएका छन् ।
प्रतिक्रिया दिनुहोस्