
वासिङटन, मंसिर १६ । उत्तर कोरियाली नेता किम जोङ–अनले चीनले निर्माण गरेको कोरोनाविरुद्धको खोप लगाएको एक अमेरिकी सुरक्षा विशेषज्ञले दाबी गर्नुभएको छ ।
जापानी जासुसी स्रोतलाई उद्धृत गर्दै ती विज्ञले किमलाई हालै उक्त खोप दिइएको बताउनुभएको हो ।
ह्यारी काजियानियासले लेख्नुभएको एक लेखमा उत्तर कोरियाली नेता किम, वरिष्ट सरकारी अधिकारीहरु र उहाँका परिवारका सदस्यहरुले एक-दुई साताभित्रै चीनमा निर्माण गरिएको खोप लगाएको बताउनुभएको छ ।
काजियानियास हाल वासिङटनस्थित सेन्टर फर नेसनल इन्ट्रेस्ट संस्थाको कोरिया अध्ययन केन्द्रका वरिष्ट निर्देशक हुनुहुन्छ ।
लेखमा उहाँले दुईजना अपरिचित जापानी गोप्य स्रोत उल्लेख गर्नुभएको छ ।
तर, चीनमा परीक्षणकै क्रममा रहेका केही खोपमध्ये कुन खोप किम र उहाँका परिवारका सदस्यले लगाएका हुन् भन्ने खुलाइएको छैन ।
चीनमा हाल तीनदेखि चार किसिमका खोप परीक्षणका क्रममा रहेका छन् । तीमध्ये एउटा खोप चीनभित्रै करिब १० लाख व्यक्तिलाई लगाइएको छ ।
तर, खोपको नतिजा सार्वजनिक नगरिएकाले यसको प्रभावकारिता र सुरक्षाका विषयमा निर्क्योल हुनसकेको छैन ।
उत्तर कोरियामा हालसम्म कोरोनाभाइरस संक्रमणका बारेमा केही जानकारी सार्वजनिक गरिएको छैन । तर, गत जनवरीदेखि नै उत्तर कोरियाली सीमामा निकै कडाइ गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्