
काठमाडौं, मंसिर १६ । कोरोनाले शिक्षण संस्था बन्द हुँदा शैक्षिक कार्यतालिका नै प्रभावित भएपछि संघीय सरकारले स्थानीय तहलाई विद्यालय चलाउन अनुमति दिएसँगै काठमाडौंका अधिकांश स्थानीय तह विद्यालयमा पठनपाठन सुरु गर्ने तयारीमा जुटेका छन् ।
स्वास्थ्य मापदण्ड अपनाएर शिक्षण सिकाइ क्रियाकलाप अघि बढाउन अधिकार प्रत्यायोजन भएपछि कतिपय स्थानीय तहले पठनपाठन सञ्चालन गराइसकेका छन् भने कतिपय सुरु गर्ने जमर्काेमा छन् ।
शङ्खरापुर नगरपालिकाले स्वास्थ्य मापदण्ड अपनाएर सामाजिक दूरी कायम गरी आफ्नो अनुकूलता हेरेर पठनपाठन सञ्चालन गर्न विद्यालयहरुलाई निर्देशन दिइसकेको नगरप्रमुख सुवर्ण श्रेष्ठले जानकारी दिनुभयो ।
‘हामीले मिति नै तोकिएर विद्यालयमा पठनपाठन सुरु गर्नू भनेर भन्न मिल्दैन । कतिपय शिक्षक बाहिरबाट आउनुपर्ने हुन्छ’–प्रमुख श्रेष्ठले भन्नुभयो ।
यहाँँ २३ ओटा सामुदायिक र छ संस्थागत विद्यालय रहेको छ ।
तारकेश्वर नगरपालिकाले स्वास्थ्य मापदण्ड अपनाएर मंसिर २१ गतेबाट विद्यालय सञ्चालन गर्ने भएको छ ।
एकैपटक धेरै विद्यार्थी भेला गराउँदा संक्रमणको जोखिम हुने भएकाले बिहान र बेलुका दुई समयमा आलोपालो गरेर विद्यालय खोल्ने तयारीमा रहेको शिक्षा शाखाप्रमुख होमनाथ न्यौपानले बताउनुभयो ।
कीर्तिपुर नगरपालिकालले संक्रमणको जोखिम कायमै रहेकाले तत्काल विद्यालय खोल्ने तयारीमा नरहेको जनाएको छ ।
कीर्तिपुर नगरपालिकाका नगरप्रमुख रमेश महर्जनले दुई–चार दिन विद्यालयमा पढाइ सुरु गरेर फेरि बन्द गर्ने स्थिति नआओस् भन्ने उद्देश्यले तत्काल विद्यालय खोल्ने तयारी नगरेको बताउनुभयो ।
‘जाडो पनि बढिरहेको छ । अलि न्यानो समय आउँछ । पुसको १५ तिरबाटमात्र विद्यालय सञ्चालन गर्ने तयारीमा छौं’–प्रमुख महर्जनले भन्नुभयो ।
कागेश्वरी मनोहरा नगरपालिकाले मंसिर २१ गतेबाट विद्यालय सञ्चालन गर्ने भएको छ ।
जोर–बिजोर प्रणाली लागू गरेर स्वास्थ्य मापदण्ड अपनाएर मंसिर २१ गतेबाट विद्यालय खोल्ने तयारीमा रहेको नगरप्रमुख कृष्णहरि थापाले जानकारी दिनुभयो ।
संक्रमण बढी भएको क्षेत्रमा विशेष स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय सञ्चालन गर्ने तयारीमा रहेको बताइएको छ ।
टोखा नगरपालिकाले भने केही स्वास्थ्य सुरक्षा मापदण्ड बनाएरमात्र विद्यालय खोल्ने तयारी गरिएको नगरप्रमुख प्रकाश अधिकारीले बताउनुभयो ।
‘हतारमा विद्यालय सञ्चालन गर्दा संक्रमणको जोखिम झन् बढ्न सक्छ’–प्रमुख अधिकारीले भन्नुभयो ।
नागार्जुन नगरपालिकाले तत्काल विद्यालय नखोल्ने भएको छ । संक्रमणको जोखिम बढिरहेकाले विद्यालय खोल्ने निर्णय गरिनसकेको नगरप्रवक्ता थुमराज केसीले बताउनुभयो ।
गोकर्णेश्वर नगरपालिकाले मंगलबार (आज)देखि विद्यालय खोल्ने भएको नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुंगानाले बताउनुभयो ।
बूढानीलकण्ठ नगरपालिकाले विद्यालयको क्षमता र विद्यार्थी संख्या हेरेर विद्यालय खोल्ने तयारीमा रहेको जनाएको छ ।
जनप्रतिनिधि र अभिभावकबीच छलफल गरी केही स्वास्थ्य सुरक्षा मापदण्ड बनाएरमात्र विद्यालय सञ्चालन गर्ने तयारीमा रहेको नगरप्रवक्ता नवराज भट्टराईले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्