
काठमाडौं, मंसिर १६ । राष्ट्रियसभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले कोरोना महामारीका कारण राष्ट्रिय आयोजनाहरुमा परेको असरसम्बन्धी अध्ययन गर्ने भएको छ ।
मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले राष्ट्रिय गौरवका आयोजनाहरुमा महामारीले पारेको असर सम्बन्धमा स्थलगत अनुगमन गरी सरकारलाई सुझाव दिन उपसमिति गठन गरेर अध्ययन गर्ने निर्णय गरेको हो ।
समितिकी सभापति दिलकुमारी रावल थापाले राष्ट्रिय गौरवका आयोजनाहरुको अनुगमन र सरोकारवाला पक्षसँग छलफल गरी सरकारलाई आवश्यक निर्देशन तथा सुझाव दिनेगरी उपसमिति गठन गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
समितिले पछाडि परेको क्षेत्र, समुदाय, मानवअधिकारको सन्दर्भ, राष्ट्रिय सम्पदा, राष्ट्रिय सुरक्षा, विभिन्न सन्धि–सम्झौतालगायतका विषयमा छलफललाई अगाडि बढाउने गरी कार्ययोजना निर्माण गरेको छ ।
यस्तै, लैंगिक हिंसाविरुद्धको विषयमा तीन तहका सरकार र जनप्रतिनिधिको भूमिका सम्बन्धमा पनि छलफल चलाउने समितिले निर्णय गरेको छ ।
महामारीका कारण प्रभावित भएका समितिका काम–कारबाहीहरु अबदेखि नियमित बैठक बसेर अघि बढाउने समितिकी सभापति थापाले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्