
इलाम, मंसिर १६ । इलामको पर्यटन प्रवर्द्धनमा सघाउ पुग्नेगरी नयाँ परियोजना सञ्चालनमा आएको छ ।
इलाम उद्योग वाणिज्य संघ इलामले दिगो रोजगारीका लागि सीप विकास परियोजना सञ्चालनमा ल्याएको हो ।
पर्यटन प्रवर्द्धनमा सघाउ पुर्याउने होटलसँग सम्बन्धित कार्यक्रमहरु सञ्चालन हुनेछन् ।
होटलमा हाल दक्ष जनशक्तिबिना नै सञ्चालन भइरहेकाले परियोजना सञ्चालनपश्चात् ३२० जना दक्ष जनशक्ति उत्पादन हुने इलाम उद्योग वाणिज्य संघका महासचिव हेमन्त गौतमले जानकारी दिनुभयो ।
उहाँले होटल क्षेत्रमा आवासीय आतिथ्यता सत्कार र सेवा उपलब्ध गराउने जनशक्ति उत्पादन गर्न निजी क्षेत्रसँगको साझेदारीमा कामको थालनी भएको बताउनुभयो ।
१५ महिनासम्म सञ्चालन हुने कार्यक्रमअन्तर्गत् हालसम्ममा कार्यालय व्यवस्थापन कार्य भएको इलाम उद्योग वाणिज्य संघका उपाध्यक्ष दुर्गा श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँकाअनुसार सरोकारवालासँग बैठक बसेर दक्ष जनशक्ति उत्पादनमा परियोजना सञ्चालन हुनेछ ।
परियोजना सञ्चालनका लागि तीन करोड २३ लाख ९७ हजार ६८५ रुपैयाँ विनियोजन भएको छ ।
प्रतिक्रिया दिनुहोस्