१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सेयरबजारमा दैनिक नयाँ रेकर्ड, के भन्छन् विश्लेषक ?


0
Shares

काठमाडौं, मंसिर १६ । पछिल्ला केही दिनयता सेयरबजारमा निरन्तर उछाल आउनेक्रम जारी छ ।

सेयरबजार परिसूचक नेप्से, सेयर कारोबार रकम र सेयर कित्तामा समेत दैनिक नयाँ रेकर्ड कायम हुँदै गएको छ ।

निरन्तर बजार ‘बुलिस ट्रेन्ड’मा रहँदा नेपाल धितोपत्र बोर्डले सोमबार विज्ञप्ति नै जारी गर्दै धितोपत्र बजारमा लगानी गर्दा सुझबुझसँग लगानी गर्नुपर्ने भन्दै लगानीकर्तालाई आग्रहसमेत गरेको छ ।

पुँजीबजारमा लगानी गर्दा अनावश्यक हल्ला र अनुमानको पछि नलाग्नसमेत आग्रह गरेको छ ।

पछिल्ला केही दिनयता कारोबार रकम नौ अर्बभन्दा बढी भएको छ भने सेयरबजार परिसूचक नेप्सले दुई हजार अंक नाघिसकेको छ ।

तीन महिनाकै अवधिमा नेप्सेमा ५०० अंकको वृद्धि भएको छ । बजार निरन्तर उकालो लाग्नुलाई लगानीकर्ताले सकारात्मकरुपमा लिएका छन् ।

नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार पछिल्लो समय बैंकको ब्याजदर घटेका कारण पनि लगानीकर्तालाई सहज भएको र बजार उकालो लागेको बताउनुहुन्छ ।

चैत महिनामा १२ हजार लगानीकर्ताले अनलाइन कारोबार गर्ने गरेकोमा पछिल्लो समय भने दुई लाख बढी लगानीकर्ताले सेयर कारोबारका लागि युजर आईडी र पासवर्ड लिएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

अझै अनलाइनमार्फत् कारोबार गर्ने लगानीकर्ता थपिँदा पनि एक्सचेन्जको अनलाइन प्रणालीमा कुनै समस्या नआउने दाबी नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदको छ ।

यस्तै, पछिल्लो समय बैंकको ब्याजदर कम हुनु, मौद्रिक नीति तथा नेपाल राष्ट्र बैंकको नीति तथा धितोपत्र बोर्डले गरेको सहजीकरणका कारण पनि लगानीकर्तालाई लगानीका लागि सहज भएको सेयरबजार विश्लेषक अनलराज भट्टराईको भनाइ छ ।

योक्रम निरन्तर उकालो लाग्दा सेयर अझै बढ्न सक्ने आँकलन पनि उहाँले गर्नुभयो ।

करिब चार वर्षपछि पुनः उकालो लागेको सेयरबजार अहिले दोस्रो चरणमा प्रवेश गरेको विश्लेषण गरिँदै आएको छ । पछिल्लो समय नयाँ लगानीकर्ता पनि बजार प्रवेश गर्न थालेका छन् ।

यस्तोमा कुनै एक कम्पनीको सेयर मूल्य बढ्दैमा वा बजार हल्लाको पछि लागेरभन्दा पनि कम्पनीको अवस्था हेरेर लगानी गर्नुपर्ने विश्लेषकहरुको सुझाव छ ।