
तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसको १४ औँ महाधिवेशन तोकिएको अवधिमा नै हुनुपर्ने बताउनुभएको छ ।
नेपाल प्रेस युनियन तनहुँले बुधबार दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले कांग्रेस विधि, नियम र पद्धतिमा चल्ने भएकाले तोकिएको मितिमै पार्टीको महाअधिवेशन हुनुपर्छ भनेर आफूले आन्तरिकरुपमा सङ्घर्ष गरिरहेको बताउनुभयो ।
“प्रजातन्त्रको मूल मर्म भनेको आवधिक निर्वाचन र विधिको शासन हो, उहाँले भन्नुभयो, त्यसकारण महाधिवेशन तोकिएको मितिमा हुनुपर्छ भनेर पार्टीभित्रै लडाइँ गरिरहेको छु ।”
पार्टी र विधानको रक्षा गर्न पनि तोकिएको समयमा नै महाधिवेशन हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
वरिष्ठ नेता पौडेलले राजतन्त्र, अधिनायकवाद र प्रतिगामी बाटोमा नेपाललाई जान नदिन पार्टीले सशक्त भूमिका निर्वाह गर्ने बताउँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको प्रवद्र्धन र अन्यायविरुद्ध कांग्रेस सक्रिय भएर लाग्ने छ भन्नुभयो । रासस
प्रतिक्रिया दिनुहोस्