१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चिया उत्पादनको १९७ वर्षपछि नेपाली चियाको लोगो सार्वजनिक


0
Shares

इलाम, मंसिर १७ । चियारोपणको १९७ वर्षपछि नेपाली चियाको लोगो सार्वजनिक भएको छ । सार्वजनिक लोगो विश्वका दुई देशमा दर्तासमेत भएको छ ।

लोगो दर्तासँगै विश्वबजारमा नेपाली चियाको गुणस्तरीयता बढ्ने भएको छ ।

नेपाली चियाको लोगो विश्वका दुई देशमा ‘ट्रेडमार्क’ भइसकेपछि इलामका चिया कृषक उत्साहित भएका छन् ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कायकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईले चियाको लोगो ट्रेडमार्क भइसकेको र अब यसलाई विश्वबजारमा गुणस्तरीयरुपमा पुर्‍याउनुपर्ने बताउनुभयो ।

चिया उत्पादनको १९७ वर्षपछि चियाको लोगो सार्वजनिक गरिएपछि अमेरिका र भारतमा चियाको लोगो दर्ता भइसकेको छ ।

त्यसैले पनि चियाको गुणस्तरीयतामा ध्यान दिन उहाँले किसानहरुलाई आग्रह गर्नुभयो ।

इलाम नगरपालिका–२ मा रहेको चिया विस्तार आयोजना जस्बिरेमा ५० रोपनीभन्दा बढी जमिनमा चिया रोप्ने किसानलाई ५० प्रतिशत अनुदान दिइनेछ ।

विश्वबजारमा नेपालको चिया नेपाली लोगोमा जान थालेपछि आउने दिनमा चियाको माग बढ्ने भएकाले किसानहरुले चियाको गुणस्तरीय खेतीसमेत सुरु गरिसकेका छन् ।

विश्वबजारमा नेपालबाट चियाको भन्दा कफीको बढी माग आउने गरेको छ । नेपालमा वार्षिक छ मेट्रिकटनमात्र कफी उत्पादन हुने गरेको भएपनि १९ मेट्रिकटन कफीको माग रहेको छ ।

५० हजार कफीका बिरुवा उत्पादन गर्ने किसानलाई समेत ५० प्रतिशत अनुदान दिने नीति बनाइएपछि किसानसमेत दंग भएका छन् ।

बोर्डका सदस्य पुनम बान्तवाले अब नेपाली चियालाई विश्वबजारमा प्रतिस्पर्धा गराउन सक्ने गरी अगाडि बढाइने बताउनुभयो ।

यता, इलाम नगपालिकाका प्रमुख महेश बस्नेतले विश्वबजारमा चियाको जति धेरै माग बढ्छ, उति नै धेर गुणस्तरीय चिया उत्पादनमा किसानलाई प्रेरित गरिने बताउनुभयो ।

सरकारी चियाबगान निजी क्षेत्रलाई हस्तान्तरण गरेपछि चिया क्षेत्रमा समस्या भएपनि अब सबै समस्या सामधान हुने उहाँको भनाइ छ ।

चियाको राजधानी इलाम भएपनि इलामकै किसानहरुले उचित मूल्य नपाउँदा समस्या बढ्दै गएको छ । त्यसैले पनि यसतर्फ समेत स्थानीय, प्रदेश र केन्द्र सरकारले ध्यान दिनसके अबका दिनमा चियाखेतीले विश्वबजारमा फट्को मार्ने थियो ।

भिडियो हेर्नुहोस्