२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


एसपीसहित तीन प्रहरी अधिकृत निलम्बित


0
Shares

काठमाडौं, मंसिर १७ । गृह मन्त्रालयले आचरणविपरीत काम गरेका आरोपमा नेपाल प्रहरीका तीन प्रहरी अधिकृतलाई निलम्बन गरेको छ ।

निलम्बनमा पर्नेमा प्रहरी उपरीक्षक (एसपी) विमल बस्नेत र रामेश्वरप्रसाद यादव तथा प्रहरी निरीक्षक मेघराजप्रसाद चौरासिया छन् ।

मन्त्रालयको मंगलबारको सचिवस्तरीय निर्णयले तीनलाई निलम्बन गरिएको प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो ।

प्रहरी वरिष्ठ उपरीक्षक कुँवरकाअनुसार घटनाका विषयमा अहिले छानबिन भइरहेको र कसुरको मात्रा हेरी कारबाही हुनेछ ।

तीनैजनामाथि विगतमा कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयमा रहँदा आचरणविपरीत र गैरव्यावसायिक कार्य गरेको आरोप छ ।

यादव हाल महानगरीय ट्राफिक प्रहरी महाशाखामा प्रवक्ताका रुपमा, बस्नेत महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा र चौरासिया इलाका प्रहरी कार्यालय कपिलकोट, सिन्धुलीमा कार्यरत् छन् ।

मन्त्रालयकाअनुसार उनीहरुले प्रहरी संगठनको छविमा आँच आउने एवं अन्य प्रहरी कर्मचारीलाई असर पुर्‍याउने किसिमको कार्य गरेको जानकारी प्राप्त भइ प्रारम्भिक छानबिन गर्दा आफूलाई सुम्पिएको जिम्मेवारी र दायित्व पूरा नगरेको पाइएको छ ।

मन्त्रालयले प्रहरी नियमावली,२०७१ विपरीत आचरण, व्यवहार तथा गैरव्यावसायिक कार्य गरेको पुष्टि हुन आएकाले थप जाँचबुझ एवं छानबिन गर्न प्रहरी नियमावली, २०७१ को नियम ११५ को (४) बमोजिम सचिवस्तरको निर्णयअनुसार बढीमा छ महिनाका लागि निलम्बन गरिएको जनाएको छ ।

केही दिनअघिमात्रै मन्त्रालयले इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीका प्रहरी नायब उपरीक्षक भरतराज चौधरीलाई पनि निलम्बन गरेको थियो ।