१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


शान्ति वार्ताका लागि अफगानी सरकार र तालिवानी लडाकूबीच सम्झौता, अन्तर्राष्ट्रिय समुदायबाट स्वागत


0
Shares

काठमाडौं । अफगानिस्तान सरकार र तालिवानी लडाकूबीच युद्ध विरामका लागि शान्ति सम्झौता भएको छ ।

लामो समयदेखि जारी द्वन्द्व अन्त्यका लागि एक वर्षदेखि भएको प्रयासस्वरुप लिखित रुपमै सम्झौता भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

दुवै पक्षले सम्झौतालाई वार्ताका लागि प्राथमिक चरणको प्रयास मात्र रहेको बताएका छन् ।

अफगान सरकारको वार्ता टोलीका सदस्य नादर नाडरीले वार्ताको सुरुवात भएकाले चाँडै नै निष्कर्षमा पु¥याउनका लागि थप छलफल अघि बढ्ने बताउनुभयो ।

तालिवानी लडाकूले पनि सम्झौतालगत्तै जारी गरेको संयुक्त वक्तव्यको मर्म अनुसार नै एजेण्डमा छलफल हुने बताएका छन् ।

यता सम्झौताको स्वागत गर्दै अफगानी राष्ट्रपति असरफ घानीले विद्रोहीसँग मुख्य विवादमै केन्द्रीत भएर वार्ता गर्ने बताउनुभएको छ ।

उहाँले लामो समयदेखि अफगान नागरिकको माग पूरा हुने आफ्नो अपेक्षा रहेको बताउनुभएको छ । उक्त शान्ति सम्झौताको विभिन्न मुलुकले पनि स्वागत गरेका छन् ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले दुवै पक्षबीच साझा आधार खोजेर वार्ता सफल पार्न सुझाव दिनुभएको छ ।

उहाँले हिंसा अन्त्यका लागि शान्ति सम्झौता हुनु स्वागतयोग्य भएको टिप्पणी गर्नुभयो ।

अफगान मेलमिलापका लागि अमेरिकी विशेष प्रतिनिधि जल्मयी खलीलजदले शान्ति वार्ता सफल बनाउन सबैको सामुुहिक प्रयास आवश्यक रहेको बताउनुभयो ।

सन् २००१ मा अमेरिकी सेनाले तालिवानीलाई सत्ताच्युत गरेदेखि निरन्तर हिंसाका घटनाहरु भइरहेका छन् ।

नयाँ सम्झौताअनुसार सन् २०२१ को अन्त्यसम्ममा अमेरिकी सेनाले अफागानिस्तान छोड्ने पनि सहमति भएको बताइएको छ । एजेन्सी